
धादिङ– धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चामबासका पहिरो विस्थापितले दशैं पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । विस्थापित बनेको पाँच वर्षमा यहाँका विस्थापितहरुले शुक्रबार ज्ञापनपत्र बुझाएको यो दशौं पटक हो ।
विस्थापितहरुले शुक्रबार बुझाएको ज्ञापनपत्रमा लेखिएका केही वाध्य र प्रश्नहरुले पनि विस्थापितको पीडा कतिसम्म रहेछ भन्नेकुरा बुझ्न सकिन्छ । विज्ञप्तीमा भनिएको छ– ‘हावा हुरी र पानी आउँदा ठूला मान्छेहरु जोगिन कठिन छ, बालबालिका कसरी जोगाउने ? एउटा टेन्टमा ६/७ जनासम्मको परिवार कसरी बस्नु ? अव त बर्खा लाग्यो झनै गाह्रो हुन्छ । पहिले कै बस्तीमा बस्न पनि हुदैन भन्नु हुन्छ । जग्गा भाडामा दिनेले पनि जग्गा छोड् भन्नुभएको छ । हामी कहाँ गएर बस्ने प्रमुख जिल्ला अधिकारी ज्यु ?’
सुरक्षित स्थानमा वस्ती स्थानान्तरणको लागि हारगुहार गर्दै यहाँका विस्थापितले यसअघि वडा कार्यालयमा ३ पटक, गाउँपालिकाको कार्यालयमा ३ पटक, मुख्यमन्त्री कार्यालयमा २ पटक र जिल्ला प्रशासन कार्यालयमा १ पटक ज्ञापन पत्र बुझाइसकेका थिए ।
२०७६ साल साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा प¥यो । जमिन चिरा पर्यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरु बारबिसेमा बस्दै आएका छन् । चार वर्षदेखि टेन्टमा रातदिन विताइरहेका विस्थापित परिवारलाई सरकारले अहिलेसम्म ठेगाना लगाउन सकेको छैन । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भेटिनुभएकी विस्थापित सुनमाया तामाङ भन्छिन्–‘अघिल्ला सिडियो, मन्त्री, सांसद धेरैसँग हारगुहार गरियो, सबैबाट आश्वासन मात्रै पाइयो, अहिले नयाँ सिडियो आउनु भएको छ रे उहाँले हाम्रा लागि केही गरिदिनुहुन्छ की भन्ने आश लिएर यहाँ आएका हौं ।’
यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरुले पनि पटक पटक प्रत्यक्ष देखेका छन् । तर, स्थायी प्रवन्ध मिलाउन सकेका छैनन् । आसैआसमा गुजारा गरिरहेका छन् । २१ घरपरिवारका ९२ जना कोही टेण्डमा त कोही पूराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । अस्थाई बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । टेन्ट र जस्तापाताबाट छिरेको पानीले ओछ्यान भिजाउँछ ।
स्थानीय तहको चुनावअघिको बाचा पुरा नभएपनि गत भदौमा तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नै आएर तपाइहरुलाई तत्काल बसोबास सारिदिन्छु भन्नुभएर ठूलो विश्वासमा बसेको भएपनि अहिलेसम्म कुनै काम अघि नबढेको विस्थापित बिरबहादुर लामाले गुनासो सुनाए । ‘मुख्यमन्त्री ज्यू नै आउनु भएर मिटिङमा तत्काल बसोबास सारिदिन्छु भन्नुभएको थियो । चुनाव सकिने वित्तिकै पनि साछौं भन्नुभएको थियो । अहिलेसम्म केही गर्नुभएन । अब फेरी बर्खा सुरु भयो, हावाहुरी चल्ने दिन आयो, यो वर्खा पनि टेन्टमै वित्नेभयो’, लामाले दुखेसो सुनाए ।
विस्थापित भएसँगै खाद्यन्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गाजमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितहरुमा खाद्यन्नको अभाव खड्किएको हो । पहिरो विस्तापित बस्दै आइरहेको बारबिसे बस्तीको गजुरी गाउँपालिकाले जग्गाभाडा उपलब्ध गराउदै आएको छ । तर दीर्घकालीन समाधान हुन सकेको छैन । गाउँपालिकाले भाडा तिरिदिएकोे जग्गावालाले बस्ती छाड्न आग्रह गरेपछि कहाँ जाने, के गर्ने अन्यौलमा छन् ।