Sun. Jun 15th, 2025

थोत्रा सामानको च्याम्पियन मिस्त्री ‘होम बहादुर’

चिनो सारु, धादिङ
नीलकण्ठ–१३ मधुवनका होम गुरुङ ‘काइला’ शारिरीक रुपले अपाङ्ग छन् । उनको दुबै खुट्टा चल्दैन । जसोतसो हात चल्छ । बोली पनि स्पष्ट निस्कदैन । तर, उनलाई अपाङ्ग हुनुमा खासै गुनासो छैन । गाउँमा उनी मोबाइल, घडी, बनाउने मिस्त्रीको रुपमा परिचित छन् ।

बुवा खम्ब बहादुर र आमा ठुलीमायाको चार भाई छोरा मध्य काइलो छोरा हुन् । काइला उमेर २८ वर्ष भए । हिडडुल गर्न सक्दैन् । दुबै हात राम्रोसँग चल्दैन । प्रौढ शिक्षा पढेर सामान्य अक्षर चिन्छन् । ‘काइला मिस्त्री’को नामले उनी गाउँभरी चिनिन्छन् । बौद्धिक रुपमा निकै बाठा छन् । भन्छन्–‘युटुव हेरेरै मैले धेरै कुरा सिकेको छु ।’

मोवाइल, घडी मर्मत गर्न उनले युटुवबाटै सिकेका हुन् । जलेको विजुलीको चिम पनि जोडजाड गरेर बनाइदिने गरेका छन् । घडी मोवाइल मर्मत गरेबापत गाउँले र छिमेकीहरुले उनलाई आफुखुसी पैसा दिन्छन् । ‘पचास, सय, दुई सय छोडेर जान्छन्, यत्तिनै पैसा देउ भनेर कहिल्यै माग्दिन । रोजगारीको लागि भन्दा पनि समय कटाउन र केही गर्नुपर्छ भन्ने भावनाले काम गर्ने गरेको छु’, काइलाले सुनाए ।

घर परिवारको पनि उनलाई राम्रो साथ छ । शारिरीक रुपले अशक्त काइला बौद्धिक रुपले क्षमतावान छन् । देशको राजनीतिक परिघटनादेखि अनेकन कुराको ज्ञान उनीसँग छ । तर, उनको कुरा सुनिदिने र बुझिदिने कमै छन् ।

स्पष्ट आवाज नभएकै कारण आफुले बोकेका कुरा अरुलाई बुझ्न अप्ठ्यारो पर्ने भएकोले कत्ति कुरा मनमै सिमितराख्नु परेको उनी सुनाउँछन् । काइला भन्छन्–‘हरेक वर्ष गाउँको विकासको बजेट आउछ, काम पनि हुन्छ । तर, त्यो बजेट कति थियो ?, कति काम भयो ?, गुणस्तरीय काम भयो की भएन ? भन्ने कुरा पत्रकारहरुले खोजेर लेखिदियो भने विकासका लागि आएको बजेटको सहि सदुपयोग हुने थियो ।’

यात्रामा होस् या सेवा प्रदायक कार्यालयमा अपाङ्गमैत्री वातावरण नदेखेकोमा भने उनी दुःखी छन् । सेवा सुविधा र अवसरहरुबाट कुनैपनि अपाङ्गता भएकाहरु बन्चित हुन नदिन सरकारले ध्यान दिनुपर्ने उनी बताउँछन् ।

काइला जन्मजात अपाङ्ग हुन् । सामाजिक सुरक्षा भत्ता पाउँछन् । जसोतसो बाल्यअवस्था गुजारेका काइलाले १८ वर्ष पुगेपछि नागरिकता लिए । त्यसपछि ‘क’ वर्गको सामाजिक सुरक्षाभत्ता लिएका उनलाई त्यहि भत्ताले लाउन खान पुगेको उनी बताउँछन् ।

सुरुमा अपांग छोरा जन्मिदा दुखित बनेकी काइलाकी आमा ठुलीमाया पनि अहिले खुसी छिन् । छोराको स्याहारसुसारमा जतिसुकै खटिनु परेपनि उनलाई झन्झट लाग्दैन । छोराको सीप र बौद्धिक क्षमता देखेर आफै दंग पर्ने गरेको उनी सुनाउँछिन् ।

About The Author

अन्य समाचारहरु: