
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहँदै उनको ६९ वर्षको उमेरमा बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको डा. युवराज शर्माले बताए ।
पार्किन्सन जस्तै देखिने एक जटिल प्रकारको रोगबाट उनी पीडित थिए ।
बिहान हृदयाघात भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । उहाँको पार्थिव शरीर श्रदाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ ।
दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
वि।सं २०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल प्रचण्डसँग विवाह भएको थियो ।
वि।सं। २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध सीता दाहाल जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै अहिले माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए ।
पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल सशस्त्र द्वन्द्व शुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय थिए।
उनका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ ।
दुई छोरी रेणु र गंगा दाहाल राजनीतिमा नै सक्रिय छन् । रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर थिए भने केन्द्रीय सदस्यसमेत रहेकी गंगा प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव रहेको छ।