Sat. Jul 27th, 2024

धादिङमै पढ्न पाइन्छ बीआईसीटीई ! के हो बीआईसीटीई ?

शंकर श्रेष्ठ,
धादिङ–
‘बीआईसीटीई’ अर्थात ब्याचलर अफ एजुकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी । सिधा अर्थमा बुझ्दा आईसिटी अर्थात आइटी पढाई हो ।

अहिलेको युग सुचना प्रविधिको युग हो । अबको पुस्ता सुचना प्रविधिमा दक्ष हुनै पर्छ । बीआईसीटीई पढाईले सुचना प्रविधि (आईटी)को विषयमा विज्ञ बनाउँछ । यसैलाई मध्यनजर गरेर धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसले स्नातक तहमा सुचना प्रविधि सम्बन्धी बीआईसीटीईको कक्षा संचालन गरिरहेकोे छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने बीआईसीटीई नीलकण्ठ क्याम्पसले दुई वर्ष अघिदेखि पढाई सुरु गरेको हो । कक्षा ११ र १२ मा जुनै विषय लिएका विद्यार्थीले पनि बीआईसीटीई विषयमा भर्ना हुने पाउने र समग्रमा न्यूनतम २.० जिपिए ल्याएका विद्यार्थीले यो विषय पढ्न पाउने क्याम्पस प्रमुख नवराज शर्माले बताए ।

बजारमा प्राविधिक जनशक्तिको माग उच्च भएको र यो विषय अध्ययन गर्नेहरुको रोजगारीको सुनिश्चितता हुने भएकाले पढाइ सुरु गरिएको शर्माले बताए । यो विषय पढेको मान्छे बेरोजगार भएर जागिरको खोजीमा देशविदेश भौतारिन नपर्ने उनको भनाई छ ।

२०५७ सालमा स्थापना भएको क्याम्पसमा यसअघि स्नातक तहमा विएड विविएस र विए तथा स्नातकोत्तर एम एड र एमविएसको पढाइ भइरहेको छ । ‘हामीले कक्षामा पढाएर पास गर्ने मात्र नभइ बजारले खोजेको, यहाँबाट पास भएर गएपछि बजारमा सजिलै विक्ने, प्राविधिक जनशक्ती उत्पादन गर्ने कोर्षहरु पढाउन पर्छ भनेर यो विषय थप गरेका हाँै ।’ क्याम्पस प्रमुख शर्माले भने ।

कहिले खुल्छ भर्ना ?
बीआईसीटीईमा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ गतेसम्म आवेदन फाराम बुझाउनु पर्नेछ । विलम्ब शुल्क बुझाएर असोज १२ सम्म विद्यार्थीले फारम भर्न सक्छन् ।

असोज २२ गते दिउसो १ बजे प्रवेश परीक्षा हुने र मंसिर १ गतेदेखि पढाइ सुरु हुनेछ । विद्यार्थीले अनलाइन मार्फत प्रवेश परीक्षाको फारम भर्नुपर्ने भएपनि नीलकण्ठ क्याम्पसले भने विद्यार्थीहरुसंग फाराम संकलन गरेर समेत प्रवेश परीक्षाको लागि फारम भरिदिने बीआईसीटीई कार्यक्रमका संयोजक सहायक क्याम्पस प्रमुख मुरारी अधिकारीले जानकारी दिए ।

बीआईसीटीई विषयमा २ वर्षअघिदेखि नै पढाइ सुरु गरिएको भएपनि विद्यार्थी र अभिभावकहरु बीआईसिटिई पढाईको विषयमा अझै अलमलमा रहेकोले यसको बारेमा बुझ्न र बुझाउन जरुरी रहेको प्राध्यापकहरुले बताएका छन् । बीआईसिटीई पढाईको बारेमा धेरै ठाउँमा प्रचार गर्न सके यस विषयमा विद्यार्थीको रुचि बढ्ने र देशले दक्ष जनशक्ति पाउने अधिकारीले बताए ।

हाल त्रिविको ९ आंगिक र १९ सामुदायिक क्याम्पस गरेर कूल २८ क्याम्पसमा बीआईसीटीई पठनपाठन हुन्छ । हालसम्म कुनै पनि निजी कलेजले यो कोर्ष सञ्चालन गरेको छैन ।

के हो बीआईसीटीई ?
सूचना तथा सञ्चार प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ त्रिवि शिक्षा शास्त्र सङ्कायले सन् २०१० (विसं. २०६७) देखि तीन वर्षे बीएड आईसीटी (ब्याचलर अफ एजुकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशभरका पाँच आङ्गिक क्याम्पसहरूमा यो कोर्ष पढाउन सुरु गरिएको थियो ।

एक वर्षपछि आठ सामुदायिक क्याम्पसहरूमा यो कोर्ष थपियो । सन् २०१५ मात्रिविले कोर्षलाई परिमार्जन गर्दै चार वर्षे (९ सेमेस्टर) बनायो । हाल यो कोर्ष देशभरका २८ क्याम्पसमा सञ्चालनमा छ । समग्रमा भन्दा बीएड आईसीटीको परिमार्जित कोर्ष नै बीआईसीटीई हो । तर अहिले यी दुवै कोर्ष सञ्चालनमा छन् ।

त्यस्तै नयाँ शैक्षिक वर्षको लागि वि.एड. विविएस र विए (सामाजिक कार्य) तर्फको कक्षा संचालन भने असोज १६ गतेदेखि नै सुरु हुने क्याम्पसले जनाएको छ । भर्ना कार्यक्रम सुरु गरिसकिएको र असोजको १४ गते अभिमुखीकरण कार्यक्रम संचालन गरेर १६ गतेदेखि पढाई सुरु गरिने क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिए ।

पैसाकै कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्था नआओस् भनेर गरिब, टुहुरा, निमुखा, द्वन्दपीडित, दलित, जनजाति, महिला लक्षित छात्रबृत्तिको ब्यवस्था पनि गरिएको क्याम्पस प्रमुख शर्माले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: