Sat. Jul 27th, 2024

चार दलका नेताले भने – सीमांकन परिमार्जन गर्न सकिन्छ

baithak-400x266 (1)

२६ साउन, काठमाडौं – प्रमुख चार दलका शीर्ष नेताले प्रदेशहरुको सीमांकन जनताका उचित सुझाव अनुसार परिमार्जन गर्न सकिने बताएका छन् । खण्ड र अखण्डका आन्दोलनले संविधान तथा संघीयता विरोधीलाई फाइदा पुग्ने भन्दै नेताहरुले सबैखाले आन्दोलन रोक्न आह्वान गरेका छन् ।

प्रदेशका सीमांकनमा चित्त नबुझेर शुरु भएको ठाउँ ठाउँको आन्दोलन हिंसात्मक र अराजक बन्दै गएपछि चारै दलका शीर्ष नेता एकै ठाउँमा बसेर प्रदेशहरुको सीमांकन परिमार्जन हुन सक्ने बताएका हुन् । संविधानसभा भवनभित्रैबाट जनताका नाममा संयुक्त अपिल जारी गरेपछि पत्रकारहरुसँग कुरा गर्दै शीर्ष नेताले एकै स्वरमा भने-आन्दोलन गर्नु पर्दैन, जनताको न्यायोचित माग अनुसार प्रदेशका सीमाना हेरफेर हुन्छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले संविधान जारी नभएसम्म जनताका जायज सुझाव समेटिने समेत बताए ।

विहानैदेखि संवाद समिति अन्तर्गतको विशेष समितिमा जनतालाई संयमित रहन अपिल गर्ने बारेमा छलफल भएको थियो । विशेष समितिका संयोजक डा। बाबुराम भट्टराईले चार दलका शीर्ष नेता सहितको पत्रकार सम्मेलन आयोजना गरी अपिल सार्वजनिक गरिएको हो ।

चार दलको अपिल प्रधानमन्त्री सुशील कोइरालाले वाचन गरेका थिए । कोइरालाले आन्दोलन फिर्ता लिन आग्रह गर्दै जनताका सबै सुझाव समेटेर परिमार्जन गरिने बताए । एमाले अध्यक्ष ओलीले प्रदेशहरुको सीमांकन अत्यन्तै कठिन काम भएकाले एउटाको मिलाउँदा अर्को असन्तुष्ट हुने अवस्था आउने बताए । ‘तर पनि हामी अधिकतम प्रयास गर्छौं, जनताले आन्दोलन गर्नै पर्दैन, हामी उपयुक्त ढंगले परिमार्जन गर्न तयार छौं,’ ओलीले भने ।

एमाओवादी अध्यक्ष प्रचण्डले बिभिन्न बहानामा संविधानसभाबाट संविधान नै बन्न नदिने षड्यन्त्र चिर्नका लागि दलहरु प्रदेशको सीमांकनमा तयार भएको बताए । उनले कतिपय ठाउँका जनताको गुनासो अनुसार प्रदेशको सिमाना परिमार्जन गर्न चार दल तयार रहेको प्रष्ट पारे ।
अनलाइनखबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: