
धादिङ – चाडपर्व नजिकिएसँगै धादिङमा बजार अनुगमन तीव्र बनेको छ । नीलकण्ठ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले सदरमुकाम धादिङबेसीमा पनि अनुगमन सुरु गरेको छ ।
धादिङबेसी बजारमा संचालित मासु तथा मिठाई पसल केन्द्रित गरेर अनुगमन गरिएको हो । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको नेतृत्वमा भेटेनरी अस्पतालका प्राविधिक र सरोकारवालाहरुको उपस्थितिमा अनुगमन गरिएको नगरपालिकाका शाखा अधिकृत लोकनाथ उपाध्यायले बताए ।
धादिङबेसीमा संचालित २२ वटा मासु तथा मिठाई पसल अनुगमन गर्दा कमजोरी भेटिएकाहरुलाई तत्काल सच्याउन सचेत गराइएको छ । अनुगमनको क्रममा केही पसलमा सरसफाई नभएको र मापदण्ड विपरित संचालन भइरहेको पनि भेटिएको छ । जडिल किसिमको फोहोर देखिएकोलाई तीन दिनभित्र सुधार गर्न निर्देशन दिइएको अधिकृत उपाध्यायले जानकारी दिए । अघिल्लो पटकको अनुगमनमा भन्दा केही सुधार भएको र कतिपय ठाउँहरुमा सरसफाईमा कमजोरी देखिएको उनको भनाई छ ।
त्यस्तै पृथ्वी राजमार्ग अन्तरगतको गल्छी, थाक्रे र धुनिवेशी क्षेत्रमा संचालित होटल, खाजा घर, खाद्यन्न पसलहरुमा बुधबार अनुगमन गरिएको छ । अनुगमनको क्रममा करिब १९ हजार बराबरको म्याद नाघेका सडेगलेका सामाग्रीहरु जफत गरि नष्ट गरिएको छ । तीन वटा फर्मलाई ४० हजार जरिवाना लगाईएको छ ।
मुल्यसुची नराख्ने म्याद नाघेको सामाग्री विक्रिको लागि राखेका र मुल्य सूची स्पष्ट नभएकापसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ५ हजार जरिवाना लगाईएको छ । एमआरपी भन्दा बढि मुल्य लिई सामान विक्री गरिरहेका थाक्रे–२ को न्यू काष्ठमण्डप होटललाई ३० हजार र कापदण्ड मिचेर कागजपत्र समेत नराखेका चालिसे स्टाफ होटललाई पाँच हजार जरिवाना गराइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्य सचिव मेघनाथ गौतमले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट, राष्ट्रिय उपभोक्ता संघको टोलीले अनुगमन गरेको हो ।