Fri. Mar 29th, 2024

चेपाङ विद्यार्थीको पढ्ने इच्छा पूरा भयो

sarita chapang
धादिङ – उनी हुन् सरिता चेपाङ । यसै वर्ष एसएलसी दिएर बसेकी उनले नर्सिङ प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तितर्फ नाम निकालेकी छन् ।

धादिङको जोगिमारा गाँउ विकास समितिको वडा नं १ लौताक घर भएका उनले एसएलसी परीक्षा २०७१ मा ७४.१३ प्रतिशत अंक ल्याएकी थिएन् । पढाइ खर्च अभावले उच्च शिक्षाका लागि अन्यौलमा परेकी चेपाङले सीटीईभीटीअन्तर्गत नर्सिङ प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तितर्फ नाम निकालेकी हुन् ।

गत साउन १२ गते परीक्षा लिई सीटीईभीटीले मंगलबार सार्वजनिक गरेको परीक्षाफलअनुसार उनले खुल्लातर्फ उत्कृष्ट अंकसहित नाम निकालेकी हुन् । चेपाङ समुदायको विपन्न परिवारमा जन्मिएकी उनले पैसा नभएकै कारण उच्च शिक्षा अध्ययन गर्न नपाउने अवस्था आएको थियो । तर, कल्याणकारी काम गरिरहेको ‘हामीले नगरे कसले गर्ने ?’ अभियानले उनलाई चितवनको भरतपुर ल्याएर परीक्षामा सामेल हुने वातावरण मिलाएको थियो ।

“सीटीईभीटीको नतिजाअनुसार सरिता उत्कृष्ट देखिएकी छन्”, अभियानकी कोषाध्यक्ष कल्पना बस्ताकोटीले भनिन्, “एसएलसीमा ७४.१३ प्रतिशत अंक ल्याएकी उनले नर्सिङ प्रवेश परीक्षामा कूल पूर्णाङ्क १ सयमा ७८ ल्याएकी छन् ।” खुल्लातर्फ कूल १२८ जना विद्यार्थीमध्ये सरिता २५ औं स्थानमा छिन् । पीसीएल (प्रवीणता प्रमाणपत्र तह) नर्सिङ पढ्न ४ लाख ७५ हजार रुपैयाँ शुल्क लाग्छ । नतिजा थाहा पाएपछि खुशी व्यक्त गर्दै सरिताले अब नर्सिङ पढेर विपन्न चेपाङको स्वास्थ्य सेवा गर्ने बताइन् । अत्यन्त कम सुविधा भएको जोगीमाराको राष्ट्रिय माविमा अध्ययन गरेर पनि उत्कृष्ट नतिजा ल्याएकी सरिताले अबको पढाइमा पनि उत्कृष्टता हासिल गर्ने विश्वास शिक्षक दीपक रिजालले व्यक्त गरे ।

sarita chapang family

पढाइका लागि छात्रवृत्ति पाएपनि अब उनलाई चितवनमा बस्नेरखाने बन्दोबस्त गर्नुपर्ने छ । अभियानका उपाध्यक्ष विनोदबाबु रिजालले उनलाई होस्टल खर्चका लागि विभिन्न संघरसंस्था तथा व्यक्तिले चासो देखाएपनि हालसम्म कसैले पनि जिम्मा लिइनसकेको जानकारी दिए । उनले विभिन्न निकायलाई सहयोगका लागि अपिल गरे । यसअघि १५ दिनमात्र तयारी कक्षा लिएकी उनलाई अभियानले नै भरतपुरको एक निजी होस्टलमा बस्ने व्यवस्था गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: