Sat. Jun 15th, 2024

आठ वर्षदेखि खुम्रेकिराको हैरानी खेपिरहेछन् पुराकसिङका स्थानीय

शंकर श्रेष्ठ
धादिङ- आठ वर्ष अघिदेखि बारीमा खुम्रेकिराको प्रकोपले धादिङको गजुरी गाउँपालिका–३ पुराकसिङका किसान आजित बनेका छन् । २०७२ साल यता वर्ष बिराएर खुम्रे किरा देखिन थालेको हो । किसानले बारीमा लगाएको फलफुल, तरकारी, कोदो मकै सबै खुम्रेकिराले नष्ट गरिदिने भएपछि बसाइ नै सर्नुपर्ने सोचमा पुगेका छन् ।


‘खेतबारी नभएको होइन, फल्न, पाक्न पाए आफुहरुलाई खानपुग्ने जग्गाजमिन छ तर, जे चिज लगाएपनि उम्रेपछि खुम्रेकिराले नष्ट गरिदिन्छ’, हुन्डरी तामाङ भन्छन्–‘खुर्सानी, अदुवा, बेसार समेत जरै खाइदिने भएपछि हामी यो ठाउँमा खेती किसान गरेर बस्न नसक्ने अवस्थामा आयो ।’


पुराकसिङमा ३१ घरको बसोबास छ । ‘१४ घर चेपाङ र १७ घर तामाङ समुदायको बसोबास रहेको गाउँका सबैलाई खुम्रेको समस्याले पिरोलेको छ । भकारोदेखि बारीसम्म जहाँपनि खुम्रे किराले सताएको छ । ‘भकारोमा मल बोक्दा पनि खुम्रे किरा छानेर लान्छौ । विषादी पनि छ¥यौं । तर कसैगरी पनि खुम्रे किरा नियन्त्रण भएन । खेती लगायो खुम्रे किराले खाइदिन्छ, भित्र्याउन पाइदैन । ३÷४ वर्षदेखि त झनै बाली सखाप पार्ने गरेको छ’, पुराक्सिङ खाद्य अधिकार प्रभावित समुहका अध्यक्ष समेत रहेका तामाङले दुख सुनाए ।


कोल्टो र भिरालो जमिनमा बलौटे माटो भएकोले पनि खुम्रेकिराले बढी सताएको किसानको बुझाई छ । खुम्रे किराको नियन्त्रण गर्न नसक्दा विकल्पको पर्खाईमा रहेका पुराकसिङबासी भन्छन्– ‘खेती ग¥यो खुम्रेकिराले खाइदिन्छ, ज्याला मजदुरी गरेर दुइ छाक जोहो गरिरहेका छौं । खुम्रे किराले गाउँ नै छाड्नु पर्ने बाध्यता बनाइसक्यो ।’


पाखो भिरालो बारीमा दश नङ्ग्रा खियाएर गरेको दुःख खुम्रेकिराले सखाप पारिदिने भएपछि स्थानीय किसानहरु निरास बनेका छन् । ‘माटो भित्र बस्ने किराले जुनसुकै बालीको पनि जरा खाइदिन्छ । यो पटक पनि बारीमा लगाएको कोदो पहेंलो भएर सुक्न थाल्यो, फल्ला र खाउला भन्ने आशै छैन’, पूर्णबहादुर प्रजाले भने ।


पुराक्सिङबासीले खुम्रेकिरा नियन्त्रण गर्न धेरै प्रकारका विषादीहरु पनि प्रयोग गरिसकेका छन् । आफुले जानेका, अरुले भनेका, प्राविधिकहरुको सल्लाह लिएर पनि खुम्रे किराको नियन्त्रण गर्ने प्रयास असफल बनिरहेको उनीहरुको भनाई छ । जानेका, सुनेका र अरुले भनेका थुप्रै प्रकारका उपायहरु अपनाउदा पनि खुम्रे किरा नियन्त्रण गर्न नसकिएको प्रजाले बताए ।
फियान नेपालको सहयोगमा पटक–पटक डेलिकेशन गएपछि खुम्रे किरा नियन्त्रणको लागि गजुरी गाउँपालिकाले बजेट विनियोजन पनि गरेको छ । सिन्धुपाल्चोकमा विजुली वत्ति आएपछि खुम्रे किरा नियन्त्रण भयो भन्ने सुनेका यहाँका किसान पनि गाउँमा बत्ति बलेपछि लाइटिङ प्रविधिबाट किरा नियन्त्रण हुने आशमा छन् । प्रजा भन्छन्–‘हाम्रो गाउँमा पनि विजुली आउन लागेको छ । बत्ति आएपछि खुम्रे किरा नियन्त्रण हुन्छ कि भन्ने आश छ ।’


खुम्रेकिराले माटोमुनी २ मिटरसम्म तल बसेर बालीनालीको जराखाने भएकोले माटोको उपचार नै मुख्य उपचारको रुपमा मानिन्छ । खुम्रेकिराको आयु ३ वर्षको हुने भएकोले उपचार विधि भनेको माटो उपचार गर्नु र अर्काे उपाय विजुली बत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत संस्था फियान नेपालका बागमती प्रदेश संयोजक राजेन्द्र बस्नेतले बताए । ‘मकै र कोदो लगायत बालीको जरा खाएर क्षति गर्ने खुम्रेकिरा माटोमूनि धेरै समय रहन्छ । विषादी प्रयोग गर्दा पनि नियन्त्रण भएन । अब विकल्प भनेको विजुली बत्ती हो । गाउँमा बत्ती आउदैछ, यसले खुम्रे किराको नियन्त्रण गर्न सकिन्छ कि भन्ने आश छ’, उनले भने ।


खुम्रे किरा (सेतो ग्रब्स) को वैज्ञानिक नाम फाइलोफागा एसपिपि हो । खुम्रे किरा सबैभन्दा विनाशकारी कीट किरा हो । खुम्रे किराको वयस्कहरु खपटे समुहमा पर्दछ । खुम्रे किरा माटो भित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा विनाशकारी किरा हो । यसले बाली उम्री सकेपछि कलिलो बिरुवाको जराहरु खान्छ ।जसले गर्दा बिरुवाहरु बढ्न सक्दैन र सुक्दै गएर मर्छ । विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पु¥याउछ । यसले मकै, कोदो, तरकारी बालीहरु आलु, सिमी, बोडी, अदुवा र चिया खेतीमा समेत यसले क्षति पु¥याउँछ ।

About The Author

Loading...

अन्य समाचारहरु: