Sat. Jul 5th, 2025

ऐतिहासिक भैरवी मन्दिरमा रोटरी क्वलले बनाइदियो शौचालय

धादिङको ऐतिहासिक भैरवी मन्दिर परिषरमा निर्माण सम्पन्न शौचालयको साँचो मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै रोटरी क्लव अफ धादिङका पदाधिकारीहरु । तस्बिर ः शंकर श्रेष्ठ

शंकर श्रेष्ठ,
धादिङ –
रोटरी क्लव अफ धादिङले नीलकण्ठ नगरपालिका–६ को ऐतिहासिक भैरवी मन्दिर परिषरमा निर्माण सम्पन्न शौचालय मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । चार लाख बराबरको लागतमा निर्माण सम्पन्न गरेको सार्वजनिक सौचालयको साँचो मन्दिर व्यवस्थापन समितिलाई बुझाएको हो ।


विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लवले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई सुविधा दिन शौचालय निर्माण गरी हस्तान्तरण गरिएको क्लवका अध्यक्ष नविन कुमार श्रेष्ठले बताए । क्लवमा आवद्ध सदस्यहरुबाटै रकम संकलन गरी शौचालय निर्माण गरेको पनि उनले जानकारी दिए । एउटै भवनभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय कोठा र पानीको सुविधा समेत मिलाइएको छ ।


हिन्दुहरुको आस्थाको देवता भगवान भैरव र भैरवीको किम्बदन्ती बोकेको भैरवी मन्दिर पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दै गएको छ । २०७२ सालको भुकम्पले पुरानो संरचना ध्वस्त बनेपछि भैरवी मन्दिर गुढी व्यवस्थापन समितिले पुननिर्माण गरिरहेको छ । १३ करोडको डिपिआर गरेर निर्माण सुरु गरिएकोमा हाल चार करोड बराबरको लागतमा संरचना निर्माण गरिरहेको व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले जानकारी दिए ।


भैरवीको मन्दिर निर्माण सम्पन्न हुने चरणमा पुगेको र अब भैरवको मन्दिर पुन निर्माण सुरु गरिने श्रेष्ठले जानकारी दिए । महादेवको रुपमा भैरव र देवीको रुपमा भैरबी छ । एउटा माई भैरवी र अर्को भैरवको मन्दिर गरी दुई वटा मन्दिर छ । प्रत्येक वर्ष दशैँमा पुजा गर्दा भैरवलाई सुँगुरको वलि चढाउने परम्परा रहिआएको छ ।


मन्दिर परिषरको सुरक्षाका निम्ती नेप्लीज कम्प्युटर न्युरोड काठमाडौका प्रोपाइटर कुलनिधि अधिकारीले चार वटा सिसि क्यामेरा निशुल्क जडान गरिदिएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु धादिङले क्यामेराको लागि आवश्यक पर्ने इन्टरनेट निशुल्क उपलब्ध गराएको छ । यो मन्दिर सदरमुकाम धादिङबेसीबाट १८ किलोमिटरको दुरीमा छ ।


पौराणिक भनाई अनुसार भगवान भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लाग्यो । बाघको रुप धारण गरेर भैरव मासु लिन जङ्गल गए । सुङ्गुरको शिकार गरेर फकिए । सुङ्गुर भन्ने थाहा भएपछि भैरवी डराएर त्यहाँ घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिइनन् । त्यसपछि भैरव बाहिर गएर बसेको भन्ने किम्बदन्तीहरु छन् ।

About The Author

अन्य समाचारहरु: