
काठमाण्डौ – कृषि तथा पशुपक्षी विकासमन्त्री डा। वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन् ।
आज बिहीवार ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएको हो । नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताए। उनलेअहिले पनि झन्डै १३ लाख मेट्रिक टन धान, झन्डै चार लाख मेट्रिक टन गहुँ अपुग रहेको बताए ।
उनले भने, ‘हामीले खाद्य सुरक्षा मात्रै होइन, खाद्य सम्प्रभुताको विषयलाई पनि ऐन बनाएर व्यवस्थित बनाएका छौँ । हामीले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने भनेका छौँ । कसरी हुने रु त्यसमा केन्द्रित हुनुपर्छ । हाम्रा मुख्य बाली– धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन गरेनौँ भने हामीले त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौँ । अहिले पनि झन्डै १३ लाख मेट्रिक टन धान अपुग छ, झन्डै चार लाख मेट्रिक टन गहुँ अपुग छ । मकै पनि अपुग छ । अन्य वस्तुहरू पनि आयात गरेका छौँ । मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना नबनाइकन धेरै कुराले केही पनि काम गर्दैन । कसरी १३ लाख मेट्रिक टन धान उत्पादन गर्ने त्यसबारेमा सोच्नुपर्छ ।’