Sat. Jul 27th, 2024

बजार खोज्दै चित्राफुङगा

photo 3

मनिष दुवाडी, खहरे (धादिङ) – भुकम्पका कारण अति–प्रभावित बनेको उत्तरी धादिङको जनजिवन केही सामान्य बन्दै गए पछि त्यहाँ उत्पादन भएका चित्राफुङगाहरु (बांसका हस्तनिर्मित सामाग्री) बजारमा आउन थालेको छ । बिशेष गरी उत्तरी धादिङको मुख्य आम्दानीको रुपमा रहेको बाँस तथा चोयाका डोका, डाला, नाङलो र थुन्सेहरु स्थानियहरुले बजारमा बेच्न ल्याउन थालेका हुन ।

उत्तरी धादिङमा गत वैशाख १२ गतेको विनाशकारी भुकम्प पछि धेरै नै क्षति पुगेको र भुकम्पले जनजिवन नै अस्तब्यस्त बनाएपछि त्यहाँका स्थानियहरुले राम्रो आम्दानी गरिरहेको बाँस तथा चोया बाट बनाइने चित्राफुङगाहरुको उत्पादन नै ठप्प भएको थियो । अहिले भने जनजिवन सामान्य बन्दै गएपछि पहिले बनाएर राखेका सामानहरु बजारमा बेच्न ल्याउन थालेका छन भने नयाँ सामाग्रीहरुको पनि उत्पादन सुरु भएको री गाउँ विकास समितिका आइतमान तामाङले बताए । उनले भने, ‘भुकम्पले गर्दा पहिना बनाएर राखेको सामान पनि बेच्न पाइएको थिएन । विस्तारै बाटो पनि खुल्न थाल्यो अनि बोकेरै बेच्न ल्याएका हौँ ।’

photo 4

धेरैजसो गाउँ र बस्तीहरु त भुकम्प कारण विस्थापित भएर अन्यत्रै गएपनि सुरक्षित रहेका गाउँहरुबाट भने उत्पादित सामाग्रीहरु बजार झर्न थालेको छ । त्यहाँका स्थानियरुले राम्रो आम्दानी गर्ने यी बस्तुहरु भुकम्पका कारण उत्पादन नै गर्न नसकेको अवस्थामा अहिले भने जनिजवन केही समान्य बन्दै गए पछी उत्पादन सुरु गरेको स्थानियहरुले बताएका छन ।
बाँसको सामाग्री बनाउन धेरै समय पनि खर्चिन नपर्ने र प्रति महिना एउटै परिवारले एक सयदेखी एक सय पचास ओटासम्म घरमा नै बसी–बसी फुर्सदको समयमा डोका डाला बुन्ने गरेका छन । भुकम्प अघि सहज रुपमा बिक्री वितरण भइरहेपनि भुकम्प पछि भने विक्री वितरणमा अप्ठ्यारो आएको स्थानियहरुले बताएका छन । भुकम्प अघि व्यापारीहरु गाँउमा नै गएर प्रति गोटाको १ सय २० रुपैयामा किन्ने गरेको भएपनि अहिले भने भुकम्पले गर्दा गाउँसम्म जाने गोरेटो बाटाहरु समेत विग्रिएपछि गाउँबाट बोकेर खहरेको रिङने बजार सम्म ल्याउनु परेको डोको ब्यापारी श्यामसिं तामाङले बताए । उनले भने, ‘पहिले हामी घरमै बसेर डोकाडाला बुन्थ्यौँ किन्न पनि ब्यापारीहरु गाउँमै पुग्थे, भुकम्प पछि त गाउँमा कोही गएनन्, त्यही भएर एक दिन पैदल हिडेर खहरेसम्म ल्याएका हौँ ।’ गाउँमा १ सय २० रुपैयामा एउटा थुन्से विक्री भएपनि खहरेको रिङने बजारसम्म बोकेर ल्याउदा १ सय ५० रुपैया लिने गरेको तामाङले बताए ।

उत्तरी धादिङको मुख्य आम्दानीको रुपमा लिईने बाँस तथा चोयाको डोका थुन्सेहरुको माग भने बजारमा अत्याधिक रहेको र माग अनुसारको उत्पादन गर्न नसकेको उनीहरुको भनाइ छ । गाउँमा उत्पादन गरेको सामान बजारसम्म लैजानको लागि अहिले धेरै नै अप्ठयारो भएकाले पनि उत्पादनमा कमी आएको छ । पहिले एकदिन लगाएर बोकेर बजारसम्म ल्याउने सामानहरु भुकम्प कारण ठाउँ ठाउँमा बाटो पहिरीएकाले बजार ल्याउन नसकेको स्थानियहरुले बताएका छन ।

बाँस तथा चोयाको सामान विक्रीबाट सामान्य परिवारले पनि महिनामा २० देखी २५ हजार आम्दानी गर्ने गर्दछन । फुर्सदको समयमा बुन्ने गरेको डोका डालाबाट प्राप्त आम्दानीले घरखर्च चलाउने देखि बालबच्चाको पढाइमा लागि पुग्ने गरेको उनीहरुले बताएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: