
काठमाडौं – त्यहाँ के मात्र थिएन, जीवन्त फिल्ममा हुनुपर्ने सबथोक । पात्र, घटना, द्वन्द्व, सस्पेन्स, संवेदना, तनाव र क्लाइमेक्स । शुक्रबार प्रसारित भ्वाइस अफ नेपालको ब्याटल राउण्डको पहिलो एपिसोडमा यी सबै तत्व थिए
दुई घण्टा लामो फिल्मले भन्न नसकेको कथा ‘भ्वाइस अफ नेपाल’को १५ मिनेटको ब्याटलले भनिदिएको थियो । टेलिभिजन रियालिटी शोको सौन्दर्य नै यही हो । गायक बन्ने सपना बोकेर भ्वाइसको स्टेजमा उभिएका प्रशान्त सिवाकोटरी र रोजिना बस्नेतले ब्याटलमा कोचदेखि होस्ट र दर्शकको आँखामा आँसु बगाइदिए ।
उनीहरुको प्रस्तुतिमा मिसिएको यो गायन सामर्थ्यले कोच र दर्शकलाई ‘नोस्टाल्जिक’ बनाइदियो । तुलसी घिमिरे निर्देशित फिल्म ‘लाहुरे’मा समावेश कालजयी गीत ‘पहाडको माथि माथि घुम्दै उडेर’मा यी दुईले ब्लकबस्टर प्रस्तुति दिए ।