Sat. Jul 5th, 2025

नयाँ संविधानको विधेयक बन्न सकेन

sambidhan6
काठमाडौं – मस्यौदा समितिले नयाँ संविधानको विधेयक बनाउन संविधानसभाले दिएको समयसीमा सोमबार सकिएको छ । तर, प्रमुख दलहरूबीच विवादित विषयमा सहमति नहुँदा समितिले सोमबार विधेयक बुझाउन सकेन ।

विधेयक बनाउन नसकेपछि मस्यौदा समितिले छलफल जारी रहेकाले सोमबारको बैठकलाई निरन्तरता दिँदै २ भदौमा अर्को बैठक बस्ने निर्णय गरेको छ । ‘काम नसकिएकाले यही बैठकको निरन्तरताका रूपमा भदौ २ गते अर्को बैठक बस्ने निर्णय भयो,’ समिति सदस्य हितराज पाण्डेले बताएको  छ ।

सहमति भएका विषयलाई मस्यौदा समितिको कार्यदलले संविधानको भाषामा ढालेर विधेयक मस्यौदा तयार गरिसकेको छ । प्रदेशको सीमांकन, थ्रेसहोल्ड, धर्मनिरपेक्षतालगायतका विषयमा प्रमुख दलबीच विवाद छ । शीर्ष नेता रहेको विशेष समितिमा मस्यौदा समितिले पछि पठाएका र मुख्य विवादित विषयमा सोमबार छलफल भएको छ । समितिका संयोजक डा। बाबुराम भट्टराईले मंगलबार फेरि मुख्य विवादित विषयमा छलफल हुने जानकारी दिए । ‘मस्यौदा समितिबाट आएका अन्य कतिपय विषयमा आज ९सोमबार० सहमति जुटेको छ,’ सोमबारको बैठकपछि भट्टराईले भने, ‘गाउँपालिका र नगरपालिकाको निर्वाचन संविधान जारी भएको ६ महिनाभित्र गर्ने भन्ने सहमति भएको छ ।’

डा. भट्टराईले दलहरूको महाधिवेशनको विषयमा पनि नयाँ व्यवस्था गरिएको बताए । ‘राजनीतिक दलको महाधिवेशन पाँच वर्ष भित्र गरिसक्नुपर्छ भन्नेमा विशेष परिस्थिति भए ६ महिना थप्न सक्ने व्यवस्था गर्ने सहमति बनेको छ,’ डा। भट्टराईले भने, ‘उद्योगी–व्यवसायीको मागअनुसार अन्तरप्रादेशिक व्यापारमा दोहोरो कर नलाग्ने व्यवस्था गर्न, सेना–प्रहरी र सरकारी स्वामित्वमा रहेका प्रतिष्ठानको लिखित परीक्षा लोकसेवा आयोगले नै लिने, संवैधानिक आयोगको संसदीय अनुगमन हुने, तर राष्ट्रिय मानवअधिकार आयोगलाई भने नहुनेलगायतका विषयमा पनि सहमति भएको छ ।’
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि सोमबारको बैठकमा मूल विषयमा छलफल नभएको बताए । ‘नागरिकतालगायत अन्य साना–तिना विषयमा छलफल भयो,’ पौडेलले भने, ‘प्रधानमन्त्री सुशील कोइराला असन्तुष्ट पक्षसँग छलफलमा लाग्नुभएकाले पनि मुख्य विवादित विषयमा छलफल नभएको हो ।’
नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: