Sat. Oct 26th, 2024

एमालेको संकल्प यात्रा बागमती प्रदेश प्रवेश

धादिङ– नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ गण्डकी प्रदेश सकेर बागमती प्रदेश प्रवेश गरेको छ ।

यात्रामा रहेको टोलीलाई आरुघाटमा भव्य स्वागत गरिएको छ । पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् । नेकपा एमाले गण्डकी प्रदेशको टोलीले बागमतीको टोलीलाई झण्डा हस्तान्तरण गरेर धादिङ प्रदेश गराएको हो ।

बागमती प्रदेश प्रवेश गर्नुअघि गोरखाको आरुघाटतर्फ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताए । राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उनको भनाई थियो ।

गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्ला र बागमती प्रदेशमा पर्ने धादिङ जिल्लाको सिमाना आरुघाट हुँदै सल्यानटार उक्लिएर आज दिउसो नुवाकोटतर्फ लागेको छ । आज नुवाकोटमा सभा सकेर त्यही बास बस्ने कार्यक्रम छ ।

नुवाकोट मध्यपहाडी राजमार्गको विन्दु हो । एक हजार आठ ७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।

यात्रामा पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू संकल्प यात्रामा रहेका छन् ।

एमालेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ । मंसिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट यात्रा शुरु भएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ ।

About The Author

अन्य समाचारहरु: