Sat. Jul 27th, 2024

धादिङको अनौठो जात्रा: वर्षमा तीन ठाउँमा सर्ने भगवती माई आज माइत झरिन्

शंकर श्रेष्ठ
धादिङ
– सयौं मानिसको लावालस्करसहित रातो घुम्टोले सिंगारिएर त्रिपुरासुन्दरी भगवती माई विहिबार विहान माइत झरेकी छिन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमुर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेसी सारिएको हो ।

भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पुजापाठ गर्ने  अनौठो र रोचक परम्परा छ । यहि परम्परा अनुसार विहिबार विहान भगवतीको घरको रुपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपले चिनिने माइथानबेसीको मन्दिरमा सारिएको हो । अझ रोचक त के छ भने बाकस भित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न त परको कुरा, छुन पनि नपाइने परम्परा छ । भगवती माइको दर्शनको लागि हासे बजार नजिकै बाटो कुरेर बस्नुभएका स्थानीय शिव प्रसाद सापकोटाले भने–‘पहिलेदेखिको चलन यही हो । भगवानलाई छुन हेर्न पाइदैन, बाहिरबाटै दर्शन गर्ने फुलअछेता चडाउने हो ।’

देवीको दर्शन गर्न सयौंको संख्यामा भक्तजनहरुले मध्यराती देखि नै बाटो ढुकेर बसेका थिए । मुर्ति देख्न र छुन नपाएपनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गरि रहेका थिए । वडा दसैंको चतुर्थीको दिन पूर्व तर्फ दसैं घरबाट मुल मन्दिर सल्यानकोट सारिएको मुर्तिलाई आइतबार विहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सारिएको हो । रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीहरुले त्रिपुरा सुन्दरी भगवतीमाइको मूर्ति र सरसामानलाई आफ्नो पिठ्युमा बोकेका थिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ ।

रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन छ । यी तीन थरीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुल ढोका बाटै भगवतीलाई पुजा–आजा गर्नुपर्ने नियम छ । यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकांक्षा पुरा गर्न परबाट नै देवीलाई फुलअछेताले पुजा गर्ने स्थानीय अगुवा कृष्ण कुमार श्रेष्ठले बताए ।

विवाहित नेपाली नारीले धेरैजसो समय आफनो कर्मघरमा विताउनुपर्ने, दशैंतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकोले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईलाई तुलना गरिएको छ । सोही परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ । स्थानीय पुजारी अर्जुन सापकोटाका अनुसार मंसिर देखि चैत्रसम्म भगवतीलाई आगिन्चोक गाविस स्थित बेसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीको रुपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिने चलन छ ।

राना मगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणहरुले अहिलेसम्म देख्न पाएका छैनन् । ‘प्रत्येक वर्ष मेला हेर्न आउँछौं, तर छुन हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो, हामी यो परम्बरा बदल्न सक्दैनौं’, मेला हेर्न आउनुभएकी देवकी अधिकारीले भनिन् ।

नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राती सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाण्डौ लगायतका ठाउँहरुबाट भक्तजनहरु आउने गर्दछन् । मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका– ४ सल्यानकोट डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबेसीको मन्दिरमा ल्याइन्छ । यसरी देबीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।

About The Author

Loading...

अन्य समाचारहरु: