Wed. Jul 24th, 2024

नेपालमा हाइड्रोजन गाडीको सम्भावना र अप्ठ्यारा

गएको कात्तिक १८ गते काठमाण्डौ विश्वविद्यालयमा हाइड्रोजन गाडीको परीक्षण गरियो । दक्षिण कोरियाली कम्पनी हुन्डाइको नेक्सो यूएसभी हाइड्रोजन गाडीमा परीक्षण गरिएको थियो । जसको मूल्य ३३ हजार अमेरिकी डलर रहेको छ ।

एक वर्षअघि नै काठमाण्डौ विश्वविद्यालय र नेपाल आयल निगमको सहकार्यमा हाइड्रोजन कार बनाउन थालिएको थियो । काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माले चढ्ने गरेको २५ वर्ष पुरानो मारुती पेट्रोल गाडीलाई हाइड्रोजनबाट चल्ने बनाउन मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षका १६ जना विद्यार्थीको समूहले काम गरेको हो । यसको संयोजन विश्वास न्यौपानेले गरेको हो । हाइड्रोजनबाट चल्ने यो गाडीको नाम जुनकिरी राखिएको छ ।

गएको वर्ष २०७९ साल फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डौमा सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्दै अब हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएपछि हाइड्रोजन कारका बारेमा सोधिखोजी शुरु भएको हो ।

तर, प्रधानमन्त्री प्रचण्डले २०७९ साल फागुनमै हाइड्रोजन गाडी चढ्ने रहर गरे पनि यसअघि सरकारले हाइड्रोजन नीति पारित गरेको थिएन । गएको माघ ३ गते बुधवारको मन्त्रिपरिषद्ले ग्रीन हाइड्रोजन नीति २०८० पास गरेपछि अब भने वैधानिक रुपमा नै हाइड्रोजन गाडी चढ्ने कानुनी बाटो खुलेको छ । यसअघि सरकारले वर्गीकृत इन्धनकोरुपमा हाइड्रोजनलाई वर्गीकृत गरेको थिएन । यातायात व्यवस्था विभागलाई नम्बर प्लेट उपलब्ध गराउन कानुनी अप्ठेरो थियो । तर, अब ग्रीन हाइड्रोजन नीति २०८० पारित भएपछि भने कानुनी समस्या हल भएको छ ।

के हो हाइड्रोजन गाडी ?
हाइड्रोजन गाडी हाइड्रोजन इन्धनले चल्ने गर्छ । तर, यसलाई पनि विद्युतीय गाडी नै भन्दा पनि फरक पर्दैन । किनकि पेट्रोल गाडी चल्ने इन्जिन जस्तै यसको फ्युल सेल इन्जिनमा हाइड्रोजन हालेपछि त्यसले बिजुली निकाल्छ । हाइड्रोजनमार्फत् निस्केको विद्युतले मोटर घुमाउँछ र त्यसकै ऊर्जाले गाडी चल्ने गर्छ । अन्य विद्युतीय गाडीमा भने ब्याट्रीमार्फत् निस्किएको विद्युतले मोटर घुम्छ र गाडी चल्छ ।

अहिले चलिरहेका साना र हलुका विद्युतीय गाडीमा लिथियम आयन ब्याट्रीको प्रयोग हुन्छ । ब्याट्री राख्नका लागि ठाउँ धेरै चाहिने तथा ब्याट्रीको क्षमता कम भएका कारण धेरै तौल बोकेर लामो दूरी हिँड्नुपर्ने मालवाहक गाडीका लागि भने समस्या देखिएको छ । तर, हाइड्रोजन गाडीमा भने थोरै हाइड्रोजन हाल्दा पनि त्यसले धेरै लामो दूरी हिँड्न सक्ने र धेरै तौल भएको ब्याट्रीको साटो एकदमै हलुका तौल भएको हाइड्रोजनको प्रयोग हुने हुँदा गाडीको वजन पनि कम हन्छ । गाडीको वजन कम हुँदा धेरै तौल लिएर उकालोमा पनि हिँड्न सकिने र ब्याट्रीको परिपूरक रहेको काठमाण्डौ विश्वविद्यालयका हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले बताए ।

लामो दूरी तथा मालवाहक ट्रकलाई यदि अहिलेको ब्याट्रीद्वारा चल्ने विद्युतीय गाडीले विस्थापन गर्ने हो भने ब्याट्री धेरै नै हाल्नुपर्ने अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । नेपालजस्तो पहाडी भूभाग भएको देशमा त्यो अझ समस्या देखिन्छ । डिजलबाट चल्ने यस्ता मालवाहक गाडीमा ब्याट्रीले विस्थापन गर्न नसकिने धेरै अनुसन्धानले देखाएको बताउनुहुन्छ थापा । ब्याट्रीको वैकल्पिक ऊर्जा स्रोत के होला भनेर अनुसन्धान हुँदै जाँदा कम तौल भएको, छोटो समयमा भर्न सकिने र लामो दूरी चल्न सक्ने ऊर्जाको स्रोत हाइड्रोजन भएका कारण पनि हाइड्रोजन गाडीको अनुसन्धान र प्रयोगमा काठमाण्डौ विश्वविद्यालय लागेको थापाको भनाइ छ ।

हाइड्रोजन कसरी उत्पादन हुन्छ ?
पानीमा रहेको अक्सिजन तथा हाइड्रोजनलाई विद्युत् मार्फत् विच्छेदन गरेर वा टुक्र्याएर हाइड्रोजन निकालिन्छ । जसलाई ग्रीन हाइड्रोजन भनिन्छ । हाइड्रोजन निकाल्ने अन्य विकल्प भए पनि प्रशस्त पानी र अहिले बिजुली पनि भएकोले विद्युत् मार्फत् विच्छेदन गरेर निकाल्ने विधि नै अहिले नेपालका लागि सबैभन्दा प्रभावकारी रहेको थापा बताउनुहुन्छ । हाइड्रोजन निकाल्नका लागि जुनसुकै सफा पानीको प्रयोग गर्न सकिन्छ ।

नौ किलो पानीबाट एक किलो हाइड्रोजन निकाल्न सकिन्छ । एक किलो हाइड्रोजन निकाल्न करिब ५० युनिट अर्थात् अहिलेको हिसाबमा झण्डै पाँच सय रुपैयाँको बिजुली लाग्छ ।

हाइड्रोजनले कति चल्छ ?
अहिले विश्व बजारमा आएका गाडीहरु पाँच÷सात किलो हाइड्रोजनले एक हजार किलोमिटर भन्दा धेरै चल्ने गरेको छ । यस अर्थमा एक किलो हाइड्रोजनले दुई सय किलोमिटरभन्दा धेरै गुड्न सकिने देखिन्छ ।

अहिले विश्व बजारमा एक किलो हाइड्रोजन उत्पादनको लागत पाँच डलर रहेको थापा बताउनुहुन्छ । तर, पेट्रोलियम पदार्थको विस्थापनका लागि हाइड्रोजनमा भइरहेको अनुसन्धानको प्रगति हेर्दा केही वर्षमै प्रतिकिलो एक डलर रहने अनुमान गरिएको छ ।

छिमेकी देश भारतले पनि सन् २०३० सम्म एक किलो हाइड्रोजन उत्पादनको लागत एक डलर बनाउने लक्ष्यका साथ काम गरिरहेको छ । नेपालले पनि यही लक्ष्यका साथ अगाडि बढेमा हाइड्रोजन उर्जा धेरै उपयोगी हुनसक्ने थापाको विचार छ ।

अन्तिम चरणमा रिफिलिङ स्टेशन
काठमाण्डौ विश्वविद्यालयले निर्माण गर्न लागेको रिफिलिङ स्टेशन अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालयको आफ्नै डिजाइनमा दक्षिण कोरियाबाट सामान मगाएर स्टेशन बनाउन लागेको हो । विश्वविद्यालयले अबको दुई÷तीन हप्तामा उद्घाटन गर्ने तयारी गरेको छ ।

अहिलेको बजार मूल्यको हिसाब गर्दा रिफिलिङ स्टेशन बनाउन झण्डै १५÷२० करोड रुपैयाँ लाग्ने देखिन्छ । शुरुमा संरचना तयार गर्दा धेरै खर्च लाग्नु स्वाभाविक भएकोे र बिस्तारै त्यसको लागत मूल्यमा कमी आउने विश्वविद्यालयका हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा बताउछन् ।

एउटा रिफिलिङ स्टेशनको आयु २० देखि ३० वर्षको हुन्छ भने दैनिक ३०÷३५ गाडीमा रिफिलिङ गर्ने गर्छ । तर, विश्वमा भइरहेको अनुसन्धान र त्यसको लागत पनि घटिरहेको अवस्थामा अबका केही वर्षमा झण्डै आधा खर्चमा तयार हुने थापाको भनाइ छ ।

पेट्रोलबाट चल्ने हलुका र छोटो दूरीका गाडीका लागि लिथियम आयन ब्याट्रीको प्रयोग अहिले उचित देखिएको छ । तर, लामो दूरी चल्ने, भारी र डिजेलबाट चल्ने गाडीका लागि लिथियम आयन ब्याट्री उपयुक्त देखिँदैन ।

ब्याट्री र हाइड्रोजन, पेट्रोल र डिजल जस्तो
अहिले पेट्रोल गाडीहरु हलुका र छोटो दूरीका यात्राका लागि प्रयोग गरिन्छ । त्यसैगरी धेरै वजन भएका र लामो दूरीका गाडीमा भने डिजेलको प्रयोग हुँदै आएको छ । मूल्यमा केही तलमाथि परे पनि आवश्यकताका हिसाबमा पेट्रोल र डिजलको तुलना गर्ने नगरिए जस्तै ब्याट्री र हाइड्रोजनको प्रयोग पनि त्यस्तै रहेको थापाको तर्क छ । आजको संसारमा पेट्रोल र डिजेल दुई किसिमको गाडीको ऊर्जाको आवश्यकतालाई परिपूर्ति गर्न समानान्तर रुपमा प्रयोग गरेजस्तै ब्याट्री र हाइड्रोजन पनि समानान्तररुपमा भोलि प्रयोग हुने थापाको भनाइ छ ।

सडकमा गुडाउन व्यावहारिक समस्या
काठमाण्डौ विश्वविद्यालयले परीक्षणकारुपमा विश्वविद्यालय परिसरमा हाइड्रोजन गाडी गुडायो । ग्रीन हाइड्रोजन नीति पारित भएपछि यसको कानुनी समस्या टरेको छ । तर, यातायात व्यस्था विभागले हाइड्रोजन गाडीलाई नम्बर र ब्लु बुक उपलब्ध नगराएसम्म कानुनी बाटो खुले पनि हाइड्रोजन गाडी सडकमा गुड्न भने अझै समय लाग्ने देखिन्छ ।

अझ त्यो भन्दा पनि सबैभन्दा ठूलो समस्या भनेको रिफिलिङ स्टेशनकै हुनेछ । किनकि अहिलेसम्म देशमा एउटा पनि रिफिलिङ स्टेशन छैन । लागतको हिसाबले पनि एउटा स्टेशनको झण्डै १५÷२० करोड रुपैयाँ लागत पर्न आउँछ।

५० को दशकदेखि विद्युतीय गाडी भित्र्याएर चलाउन थालेको नेपालमा अहिले पनि पर्याप्त मात्रामा चार्जिङ स्टेशनको समस्या छ । चालु आर्थिक वर्षको ६ महिनामा ५ हजार ५ सय ४६ वटा विद्युतीय गाडी आयात भएको छ । त्यसैगरी अघिल्लो वर्षमा पनि ४ हजार विद्युतीय गाडी आएको नाडा अटोमोबाइल्स एसोसिएशनले जनाएको छ । पछिल्लो चार वर्षमा मात्र ११ हजार ६ सय ५२ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ।

तर, झण्डै १२ हजार विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन भने झण्डै तीन सय मात्र रहेको छ । यसमा ५१ वटा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो भने बाँकी निजी क्षेत्रले निर्माण गरेका हुन् । यसरी अहिले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशनको अभाव महसुस भइरहेको बेला हाइड्रोजन गाडीका लागि चाहिने महँगो रिफिलिङ स्टेशन अर्को चुनौती देखिन्छ । रिफिलिङ स्टेशनका कारण पनि अहिले सोचे जस्तो सहज देखिँदैन हाइड्रोजन गाडी सडकमा गुडाउन ।

धेरै देशमा हाइड्रोजन गाडीको शुरुवात
चीन, जापान, कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोप तथा छिमेकी देश भारतमा पनि हाइड्रोजन गाडीको उत्पादन तथा प्रयोग गर्न थालिएको छ । चीनमा सन् २००० मा ८ हजार हाइड्रोजन गाडी उत्पादन भएकोमा सन् २०२५ सम्ममा झण्डै ५० हजार गाडी चीनको सडकमा गुड्नेछन् ।

भारतका केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले सन् २०२२ मार्च ३० मा घरदेखि संसद भवनसम्म हाइड्रोजन गाडी चढेर यसको शुरुवात गर्यो । गडकरीले टोयोटा कम्पनीको मिराइ गाडी प्रयोग गरेको थियो ।
साभार /उज्यालो अनलाईन

About The Author

Loading...

अन्य समाचारहरु: