काठमाण्डौ – अहिले सबैभन्दा धेरै प्रयोगमा रहेको सामाजिक सञ्जाल फेसबुक स्थापना भएको आज २० वर्ष पूरा भएको छ । सन् २००४ मा मार्क जुकरवर्गले आफ्ना केही साथीहरुसँग मिलेर फेसबुकको शुरुवात गरेका हुन्।
केही विद्यार्थीले दुई दशकअघि अमेरिकामा शुरु गरेको ‘द फेसबुक’ले अहिलेसम्म दर्जनौँ नयाँ डिजाइनहरु परिवर्तन गर्दै आफूलाई अब्बल बनाएको छ । अहिले विश्वभर फेसबुकका तीन अर्ब भन्दा धेरै प्रयोगकर्ता छन् । फेसबुककै मातृ कम्पनी मेटा अन्तर्गतको वाट्सएप अहिले विश्वमा प्रयोग भएको दोस्रो सामाजिक सञ्जाल हो ।
मेटाकै इन्सटाग्राम चौथो नम्बरमा छ । फेसबुकभन्दा अगाडि माईस्पेसजस्ता अरू सामाजिक सञ्जाल भए पनि फेसबुक निकै चाँडो लोकप्रिय बन्यो । संसारलाई अनलाइन सामाजिक गतिविधिको नयाँ युगमा प्रवेश गराएको श्रेय फेसबुकलाई नै जाने प्रविधिविज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।