Sat. Jul 27th, 2024

सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गर्दैछौ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेका उनले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद बैठकमा दरिलोरुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । प्रचण्डले सांसदहरुलाई भने, ‘तपाईंहरू राम्रो तयारीका साथ संसदमा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस् ।’

प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको बताउँदै सरकारले गरेका राम्रा कामको विषयलाई सदनमा प्रस्तुत गर्न पनि निर्देशन दिए ।

आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै उनले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताए । गठबन्धनको साझा दृष्टिकोण बनाएर संसदमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

संघीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो ।’

नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको बताउँदै उनले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाउनेगरी आगाडि बढ्नुपर्ने बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: