Wed. Jul 24th, 2024

बाइ बाइ काठमाण्डौ !!


केशव दुवाडी,

साहूज: ‘साइकल चढ्न आउँछ ?’
मः ‘आउँछ, साइकल त कैचे चलाएरै सिकेको सानैमा !! ‘मेरा दाजु (कान्छो बाको छोरा) ले डिल्लीबजार कालिकास्थानको एउटा प्राइभेट फर्ममा कामलगाइदिन लग्दा साहूजी र मेरो बीचको सम्वाद थियो त्यो !२०४८ सालमा काठमाण्डौमा काम गर्दै पढ्ने योजना अनुसार टेष्ट पास हुने बित्तिकै कामको खोजीमा काठमाण्डौ आइयो ।


दाजुको सहयोगमा काम पनि पाइयो कार्यालय सहयोगीको रुपमा !
एसएलसी माघमा हुन्थ्यो, मङ्सीरमा काठमाण्डौ आएको काम गर्ने प¥यो, बिहान चार बजे उठेर अफिसको सबैतिर झाडु बडारु ग¥यो अनि छ बजे देखि ९ बजेसम्म ट्युसन पढ्न गयो, अनि आएर भात पकाएर खायो । दिनभर साइकल चढेर हुलाक गयो, कुरियर गयो, सामान किनमेलमा गयो, अफिसका सबैलाई चिया खुवायो, सेवा ग¥यो । हालत खराब !
बल्ल बल्ल माघ लाग्यो एसएलसी अबधीभर छुट्टी लिएर धादिङबेसी नीलकण्ठ सेन्टरमा परीक्षा दिइयो र फेरि काठमाण्डौ फर्कियो !! एसएलसी रिजल्ट असारमा आउने भएकोले ५ महिना ढुक्क भो ! बिहान चाँडै उठ्न पनि परेन ! दिउँसो अफिसको काम ग¥यो, भात खायो, सुत्यो ।

‘साहुजीले खाली भएको बेलामा फोनमा बस ! फोन क–कसको आउँछ, टिपेर राख र मलाई भन !’ भन्थे ! म दङ्ग पर्दै फोन कहिले आउला र उठाँला भनेर कुरी बस्थेँ । बल्ल बल्ल फोन आयो बाहिर उठाउन खोज्दाखोज्दै भित्र साहूजीले हलो भनि हाल्ने !


आफूलाई फोनमा बोल्न कस्तो झटक लाग्थ्यो !
एक दिन फोन आएको एक घन्टीमै उठाएको विदेशबाट परेछ !
‘कुड आइ टक टु मिस्टर टिवडेवाला प्लीज ?’ भन्छ !
म त अक्न बक्क ! ‘एस ! एस ! ओके, हु इज अन द लाईन ?’ भन्दै साहूजीलाई बोलाएँ र खबर गरेँ ।
मोन्सान्टो केमिकल एण्ड कर्पोरेसन भन्ने बहुराष्ट्रिय कम्पनिको फोन रहेछ, साहुजीले कुरा गरे सकेपछि मलाई भने ‘केशव ! तिमीले इङ्लिस बोलेको ठीक छ ! अलि पोलाइट भएर मे आई नो हु स्पिकिङ्ग भन्नु पर्छ ।’


त्यसपछि मेरो एक तह बढुवा भयो अर्को मान्छे खोजेर मेरो ठाउँमा राखेँ म अफिसमा भएको बेला रिसेप्सन, बाहिर बैंक, पोष्ट अफिस, पेमेन्ट उठाउने आदिमा खटिएँ । चिया खुवाउने अफिस सफा गर्ने कामबाट मुक्ति मिल्यो ।
एसएलसी रिजल्ट आयो सेकेण्ड डिभिजनमा पास भैयो, अब बिहानको कलेज खोज्दै काठमाण्डौ क्याम्पस शान्तिनिकुन्ज, भीमसेनस्थान मा भर्ना भइयो कानुन संकायमा ।

बिहान उठ्यो साइकल चढ्यो कलेज गयो, फेरि शुरुभो अखिलको राजनीति ।
स्ववियूले गरेको स्वागत कार्यक्रमा भाषण ठोकियो ! ‘बाई बाई काठमाण्डौ म त मेरै गाउँ तिर लागेँ’ भन्ने कविता भनेको त साथीहरु वा वा भन्न थाले ! र नामै ‘बाइ बाइ काठमाण्डौ’ पो राखेत !!

स्ववियू चुनाब भयो ! मैले सचिवको जिम्मेवारी पाएँ, कविता, चुट्किला , मुक्तक आदि सुनाउने भएर साथीहरु प्रभावित नै थिए ! म मेरो प्यानलको उम्मेदवारहरु मध्ये सबै भन्दा बढी मत ल्याएर निर्बाचित भएँ !

त्यो बेलाका अखिलका चर्चित नेता रुपनारायण श्रेष्ठले मलाई काँधमा बोकेर बधाइ दिए । अखिल कार्यालय रत्नपार्क रातोघर अगाडि, शंकर पोखरेल, रामनाथ ढकाल, भेषराज अधिकारी, विशाल भट्टराई, आदि दाइहरुले बधाइ दिए ! रमाइलो भयो !
स्वबियूको राजनीतिमा लाग्दा लाग्दै काठमाण्डौमा धेरै आन्दोलनमा सहभागिता जनाइयो, टनकपुर काण्ड, लाउडा काण्ड, धमिजा काण्ड,मदन भण्डारीको रहष्यमय घटनापछिको आन्दोलन, भदौ १२ गते मनमोहनको सम्सद बिघटन बिरुद्ध अदालतले गरेको फैसला विरुद्धको आन्दोलन !! रेलिङ भाँच्ने, टायर बाल्ने, मसाल जुलुस, चक्का जाम, नेपाल बन्द, टिएर ग्याँसको पिरो, के के के !! हैरान ! सबैमा सहभागिता, पुलिसको डण्डा खाने , ढुङ्गा हान्ने सबै काम फत्ते गरियो !

साहूको काम गर्नु कि, विद्यार्थी राजनीति गर्नु कि, पढ्नुकि, पैसा कमाएर घरखर्च पठाउनु कि ! कति धेरै कुरा ! जेहोस् जसरी तसरी झेलियो !
२०५४ सालको स्थानीय चुनाब आयो गाविस अध्यक्षमा उठ भनेर गाउँमा बोलाए, पढाइ पूरा भाथेन ! तै पनि ‘बाइ बाइ काठमाण्डौ’ भन्दै गाउँ लागियो !!

About The Author

Loading...

अन्य समाचारहरु: