Sat. Jul 27th, 2024

युद्धमा मारिएका नेपालीको परिवारलाई राहत दिन रुस तयार

काठमाडौं – आफ्नो सुरक्षा फौजमा भर्ती भएर युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुस–युक्रेन युद्धमा रहेका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा एउटा सफलता हात लागेको बताए ।

‘रुसको सुरक्षा फौजमा भर्ती भएका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने कुरामा महत्वपूर्ण उपलब्धि हात लागेकोे छ’, प्रवक्ता राईले भने, ‘हामीले गरिरहेको पहलमध्ये मृतकका परिवारलाई नेपाली दूतावासमार्फत क्षतिपूर्ति पठाइदिने प्रस्तावमा रुस सहमत भएको छ ।’

प्रवक्ता राईका अनुुसार रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने भनेको छ । उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई राहत रकम दिने उनले जानकारी दिए ।

यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारका कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गर्दै आएको थियो ।

अरु देशमा ज्यान गुमाउने नेपालीको परिवारलाई पनि सम्बन्धित देशका नेपाली दूतावासमार्फत नै राहत दिने गरिएको जानकारी गराएपछि रुस पनि तयार भएको प्रवक्ता राईले बताए ।

दूतावासमार्फत राहत रकम पठाउन रुस सरकार तयार भए पनि यो रकम कहिले आउँछ भन्ने टुंगो छैन । स्रोतका अनुसार मृतकको परिवारले बीमा र राहतबापत १ करोड ५० लाख रुपैयाँ पाउन सक्छन् । तर मृतकको बीमा छैन भने प्रत्येक परिवारले लगभग ७३ लाख रुपैयाँ पाउन सक्छन् । यद्यपि, राहत रकम कति हुने भन्ने टुंगो नभएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

रुसले गत जनवरीको सुरुवातमा पास गरेको आदेशमा युक्रेन युद्धमा सहभागी विदेशी नागरिकलाई नागरिकता दिने र राहत दिने उल्लेख छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त आदेशमा युक्रेनमा रसियाका लागि लड्ने विदेशी नागरिक र तिनका परिवारलाई नागरिकता प्रदान गर्ने भनिएको छ ।

त्यस्तै अर्को एउटा आदेशमा युक्रेनसँगको युद्धमा मारिएका रुसी सैनिकका परिवारलाई ५० लाख रुबल क्षतिपूर्ति दिने र युद्धका क्रममा घाइते भएकाहरूलाई ३० लाख रुबल क्षतिपूर्ति दिने उल्लेख छ ।

About The Author

Loading...

अन्य समाचारहरु: