Mon. Oct 28th, 2024

भारतीय मानव तस्करले अमेरिका लैजाने भन्दै नेपाल ल्याएर बन्धक बनाए

काठमाडौं – भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । नेपाली नागरिकले भने उनीहरुलाई नक्कली कागजात बनाएर सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ ।

भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौंको एक घरमा ल्याएर राखी उनीहरुको परिवारका सदस्यबाट थप पैसा मगाउन लगाउने र नपठाएमा कुटपिट र यातना दिने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

नेपाल ल्याएर उनीहरु करिब एक महिनादेखि बन्धक बनाएर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुबाट विभिन्न देशका मुद्राहरु, पासपोर्टहरु तथा नक्कली कागजात, रबर स्ट्याम्प समेत बरामद गरिएको एसएसपी खत्रीले बताए ।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो प्रकरणको मुख्य योजनाकार इन्दुसिंह यादव हुन् ।

उनीहरुले मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरु देखाएर बन्धक बनाइएकाहरुलाई परिवारबाट थप पैसा मगाउन लगाएको पाइएको प्रहरीको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: