Mon. Oct 28th, 2024

हिमपातपछि रारामा पर्यटकको चहलपहल

काठमाडौं – मुगुस्थित पर्यटन गन्तव्य रारा तालमा मंगलबार हिमपात भएको छ । समुद्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा पर्यटकीय आकर्षणको केन्द्रसमेत हो । हिउँ खेल्न जानेका लागि यो मौसम उपयुक्त रहेको व्यवसायी बताउँछन् ।

काठमाडौंबाट हवाई र स्थल दुवै मार्गबाट रारा पुग्न सकिन्छ । त्यहाँ पर्यटकको सुविधाका लागि अहिले पर्याप्त होटल तथा लजलगायत उपलब्ध छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको रारा ताल सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो । यो ताल १०।८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तालको औसत लम्बाइ ५ किलोमिटर , चौडा ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ ।

रारा ताल जान वर्षभरि नै उपयुक्त भए पनि हिउँ र फूलैफूलले ढाकेको रारा हेर्न आन्तरिक तथा वाह्य पर्यटक ठूलो संख्यामा पुग्ने गर्छन् । रारा तालको पूरा आकृति हेर्न समुद्र सतहबाट करिब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो ।

यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका ६ जिल्लासमेत देख्न सकिन्छ । रारा तालको किनारै किनार पूरै एक फन्को मार्न ५ घण्टा लाग्छ । रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारीसाधन प्रवेश निषेध छ ।

मिली चौरमा सवारीसाधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ । तर, पैदल यात्रा गर्न नसक्नेका लागि घोडाको व्यवस्था छ । सवारीसाधन छाडेपछि करिब ३० मिनेटको यात्रामा ताल छेउ पुग्न सकिन्छ ।

ताल छेउ पुगेपछि हिँडाइको थकान सबै मेटिने गर्छ । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतबाट दुई दिनको सवारीसाधनमा यात्रामा पुग्न सकिन्छ । अथवा, नेपालगञ्जदेखि ४० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल र त्यहाँबाट २ घण्टा पैदल यात्रापछि रारा पुग्न सकिन्छ ।

About The Author

अन्य समाचारहरु: