शंकर श्रेष्ठ
धादिङ– धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको यात्रु बस दुर्घटनामा तीन जना हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी छ ।
बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन । यात्रु चलानीमा ४५ जना देखिएको छ । बस चालक हरिराम हरिजनका अनुसारबिचमा चढेकासहित ४९ यात्रु बसमा सवार थिए ।
जसमध्ये घाइते र सकुशल गरी ३९ जनाको उद्धार गरिएको छ । सात जनाको शव फेला परेको छ । आफन्तहरुले दिएको जानकारी अनुसार नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । ‘चालकले दिएको जानकारी अनुसार हराइरहेका भनिएको तीन जनाको नामसहित आएको छ, यसको हामी यकिन गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले भने ।
हराइरहेका भनिएकाहरुको खोजीसँगै एकिन गर्ने काम भइरहेको जैसवारले जानकारी दिए । रातको समयमा बस नदीमा डुब्न पुगेकोले नदीले बगाएको हुनसक्ने आशंकामा दुर्घटनास्थल भन्दा तल्लो भागतिर गोताखोरसहितको सुरक्षाकर्मीको टोलीले खोजी कार्य गरिरहेको जैसवारले जानकारी दिए ।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा २८ जना, विपद् व्यवस्थापन बेस आदमघाटबाट डिएसपी तुला चौधरीको कमान्डमा १६ जना र आश्रित गुल्म धादिङबाट ११ जनासहित ५५ जनाको फौज परिचालन भएको छ । नौ जना गोताखोर र अन्य विपद् व्यवस्थापन तालिम प्राप्त छन् ।
दुर्घटनामा घाइते भएकाहरु सबैको पहिचान खुलेपनि मृतकहरुको पहिचान यकिन भइसकेको छैन । घाइतेहरु मध्य २५ जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारको लागि काठमााडौं पठाइएको छ । बाँकी घाइतेको गजुरी बजारकै अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सामान्य अवस्थाका घाइतेहरु डिस्चार्ज भइ गन्तव्यतर्फ हिडिसकेका छन् ।