Sat. Jul 27th, 2024

भारतमा अडानी ग्रुपले अन्तरिक्षबाट देखिने ‘विश्वकै ठूलो’ स्वच्छ ऊर्जा प्लान्ट बनाउँदै

काठमाडौं – भारतको गुजरातमा ‘विश्वकै ठूलो’ स्वच्छ ऊर्जा प्लान्ट बनाइँदै छ । यो ऊर्जा प्लान्ट फ्रान्सको पेरिस सहरभन्दा पाँच गुणा ठूलो र अन्तरिक्षबाट समेत देखिने जनाइएको छ ।

सो ऊर्जा प्लान्टले उत्पादन गर्ने विद्युत् पूरै स्वीट्जरल्यान्डका निम्ति पुग्नेजति हुनेछ । यो प्रोजेक्ट भारतीय उद्यमी गौतम अडानीको कम्पनीको हो ।

अडानी ग्रीन इनर्जी लिमिटेड ९एजीईएल०का कार्यकारी निर्देशक सागर अडानीले परियोजना हेरिरहेका छन् । सागर अडानी गौतमका भतिजा हुन् ।

करिब १०० अर्ब अमेरिकी डलर सम्पत्ति भएका गौतम अडानी भारतमा सबैभन्दा ठूलो कोइला आयात र उत्खननकर्ता हुन् । सन् १९८८ मा स्थापित अडानी ग्रुपले बन्दरगाह, थर्मल पावर प्लान्ट, मिडियादेखि सिमेन्टसम्मका क्षेत्रमा व्यवसाय गर्छ ।

अडानी ग्रुपको स्वच्छ ऊर्जा इकाइ एजीईएलले पश्चिम भारतको गुजरात राज्यमा करिब २० अर्ब अमेरिकी डलरको लागतमा सौर्य र वायु ऊर्जा प्लान्ट निर्माण गरिरहेको हो । पाँच वर्षमा यसको निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । विश्वकै सबैभन्दा ठूलो स्वच्छ ऊर्जा पार्क बन्ने यसले भारतका एक करोड ६० लाख घरमा बिजुली उपलब्ध गराउनेछ ।

खाब्दा नवीकरणीय ऊर्जा पार्क एवं गुजरात हाइब्रिड नवीकरणीय ऊर्जा पार्क समेत भनिएको यो परियोजनाबाट जलवायु परितर्वनविरुद्ध लड्न आवश्यक स्वच्छ ऊर्जाको माग पूरा गर्ने लक्ष्य राखिएको छ ।

आर्थिक फड्कोसँगै भारतमा ऊर्जाको माग समेत बढ्दो छ । तर, भारतले उत्पादन गर्ने बिजुलीको ७० प्रतिशत हिस्सा कोइलाको छ । कोइला प्रदूषणको एक महत्त्वपूर्ण कारक तत्त्व हो ।

पाकिस्तानसँगको सीमाबाट करिब १९ किलोमिटर टाढा यो पार्क ३२२ वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलनेछ । सागर अडानीले भनेका छन्, “यो ठूलो क्षेत्रमा कुनै वन्यजन्तु छैन र कुनै वनस्पति पनि छैन । त्यहाँ कुनै वासस्थान छैन । त्यो जग्गाको अर्को राम्रो विकल्प छैन ।”

अमेरिकी सर्ट सेलर हिन्डेबर्ग रिसर्चले दशकौँदेखि ठगीको आरोप लगाए पनि अडानी ग्रुपले त्यसलाई अस्वीकार गर्दै आएको छ । आफ्नो व्यापारिक विस्तारलाई निरन्तर राख्दै अडानी ग्रुपले स्वच्छ ऊर्जा क्षेत्रमा अर्बौँ रकम खर्च गरिरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दशकको अन्त्यसम्ममा ५० प्रतिशत ऊर्जा सौर्य एवं वायु ऊर्जाजस्ता नवीकरणीय स्रोतबाट आपूर्ति गर्ने लक्ष्य घोषणा गरेका थिए । २०२१ मा उनले २०७० सम्ममा ‘नेट जिरो’ उत्सर्जनको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेट जिरो भनेको जति प्रदूषण उत्सर्जन गर्छ, त्यति प्राकृतिक रूपमै नष्ट हुन सक्ने स्थिर स्थिति हो ।

भारतले सन् २०३० सम्ममा ५०० गिगावाट स्वच्छ इन्धन उत्पादन गर्ने लक्ष्य राखेको छ । एक हजार मेगावाटबराबर एक गिगावाट हुन्छ ।

अडानीको एजीईएलले त्यसको कम्तीमा नौ प्रतिशत स्वच्छ ऊर्जा ३० गिगावाट क्षमताको यसै पार्कबाट उपलब्ध गराउने लक्ष्य राखेको छ । भारतका निम्ति पहिले कल्पना नगरिएको क्षमताका ठूला परियोजना अघि बढाउनुको विकल्प नभएको ३० वर्षीय सागर अडानीले बताएका छन् ।

भारत ऊर्जा खपत गर्ने विश्वको तेस्रो ठूलो देश हो । सन् २००० यता भारतमा उर्जाको माग दोब्बर भएको छ, जसको ८० प्रतिशत कोइलाबाटै आपूर्ति गरिन्छ ।

चीन, अमेरिका र युरोपले झैँ भारतले पनि जीवाश्म इन्धन नै प्रयोग गरेमा जलवायु परिवर्तनका कारण भविष्य अन्धकारमय हुने उनको भनाइ छ ।

About The Author

Loading...

अन्य समाचारहरु: