Mon. Oct 28th, 2024

साउदी अरब पहिलोपटक मिस युनिभर्स प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं – इस्लामिक मुलुक साउदी अरबले पहिलोपटक विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा भाग लिने भएको छ । रुमी अलकाहतानीले उक्त पेजेन्टमा मुलुकको प्रतिनिधित्व गर्ने भएकी छन् ।

राजकुमार मोहम्मद बिन सलमान अल साउदको नेतृत्वमा खुलापनको नीति आत्मसात गर्दै आएको साउदीको यो अर्को महत्वपूर्ण कदम हो । २७ वर्षीया मोडल अलकाहतानीले मंगलबार इन्स्टाग्राममा यसबारे जानकारी दिंदै आफूले मिस युनिभर्समा सहभागी हुन लागेको उल्लेख गरेकी छन् ।

‘यो मिस युनिभर्स प्रतिस्पर्धामा साउदी अरबको पहिलो सहभागिता हुनेछ,’ उनले भने । खलिज टाइम्स र एबीसी न्युजले पनि साउदीले पहिलोपटक मिस युनिभर्समा भाग लिन लागेको बताएका छन् ।

साउदी अरेबियाको राजधानी रियादबाट आएकी अलकाहतानीले केही साताअघि मलेसियामा सम्पन्न मिस एण्ड मिसेस ग्लोबल एसियनमा भाग लिएकी थिइन् । ‘मेरो योगदान विश्व संस्कृतिको बारेमा जान्न र हाम्रो प्रामाणिक साउदी संस्कृति र सम्पदालाई संसारमाझ फैलाउनु हो,’ हल्काहतानीलाई उध्दृत गर्दै अरब न्युजले उल्लेख गरेको छ ।

लामो समयसम्म रुढिवादी मूल्यमान्यताको कारण परिचित साउदी अरेबियाले पछिल्लो समय ३८ वर्षीय राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा उदारवादी नीतिहरु आत्मसात गर्दै आएको छ ।

About The Author

अन्य समाचारहरु: