Wed. Apr 17th, 2024

जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा

मनाङ – देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ ।

यही चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा सकिएका छन् । बाँकी विषयका परीक्षा पनि सोही कोठाबाटै सञ्चालन गरिने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाइँले जानकारी दिए। विगतका वर्षभन्दा फरक ढङ्गले यस वर्षको एसइई सञ्चालन गरिएको उनको भनाइ छ ।

चालीस परीक्षार्थीमध्ये एक जना अनुपस्थित भएकाले अहिले ३९ जना परीक्षामा सहभागी भएका चपाइँले बताए । उनका अनुसार परीक्षा केन्द्र परिसरको सुरक्षाका लागि नेपाल प्रहरीका सात र सशस्त्र प्रहरी बलका सात गरी १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उक्त परीक्षा केन्द्रमा २३ छात्रा र १७ छात्र गरी कूल ४० विद्यार्थीले एसइईमा सहभागिता जनाउने गरी फाराम भरेकामा खुलातर्फका एक जना अनुपस्थित भएपछि ३९ परीक्षार्थीले परीक्षा दिइरहेका केन्द्राध्यक्ष श्यामकृष्ण पन्तले जानकारी दिए । उनका अनुसार प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला)दुई गरी ३९ जना सहभागी भएका छन् ।

लोकप्रिय माविमा परीक्षा केन्द्र कायम गरिकामा आवासीय विद्यालय भएकाले होहल्ला हुने तथा नजिकै पहिरो गएकाले समस्या हुनसक्ने भएपछि बालमन्दिर प्राविको हलमा परीक्षा सञ्चालन गरिएको पन्तले बताए । उनका अनुसार मनाङमा एउटै परीक्षा केन्द्र र एउटै परीक्षा हल कायम भएको छ ।

मर्यादित ढङ्गबाट परीक्षा सञ्चालन भएको जानकारी दिँदै उनले यस वर्षदेखि एसइई दिने विद्यालयका कोहीलाई पनि निरीक्षक तथा केन्द्राध्यक्ष नराखिएको बताए ।

‘विगतका वर्षमा जुन परीक्षा केन्द्र हुन्थ्यो, त्यही विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष हुने र अन्य शिक्षक निरीक्षक बन्ने गरिएको थियो । यस वर्षदेखि उक्त व्यवस्थामा परिवर्तन गरेका छौँ’, केन्द्राध्यक्ष पन्तले भने, ‘थोरै विद्यार्थी भएकाले दुई जना निरीक्षक राखेर परीक्षा सञ्चालन गरिरहेका छौँ ।’

About The Author

Loading...

अन्य समाचारहरु: