Sat. Jul 27th, 2024

असिनाले क्षणभरमै लुट्यो उत्तरी धादिङका किसानको खुसी

धादिङ-धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले किसानले लगाएको हिउँदेबाली नष्ट गरेको छ ।

उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँवस्तीका किसानले लगाएको बाली सखाप बनेको किसानहरुले बताएका छन् । शनिबार दिउँसो परेको असिना पानीले गहुँ, मकै, जौ, साग लगायत हिउँदेबाली नष्ट गरेको गंगाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले जानकारी दिए ।

गंगाजमुना गाउँपालिका, खनियाबास गाउँपालिकाको झार्लाङ र रुविभ्याली गाउँपालिकाका अधिकांश किसानले लगाएको बाली असिना पानीले सखाप बनेको छ । वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरै सखाप बनाएपछि किसान चिन्तित छन् ।

हिउँदे खडेरीमा दुःखले हुर्काउदै गरेको आलु, मकै गहुँ, जौ लगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहो¥याएर अर्काे बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्ण बहादुर तामाङले बताए । ‘हुर्कदै गरेको गहुँ, गोड्ने बेला भएको मकै र आलु असिना पानीले सखापै पारिदियो । बारीका ढिलमा भएको रुख घाँसको समेत सिठ्ठा मात्रै बाँकी छ’, तामाङले भने ।

फागुन महिनाको पहिलो सातादेखि लगाएको मकै, पुष महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको छ । मकै र आलु खेती नै गरेर जीवन निर्वाह गर्ने यस क्षेत्रका किसानहरुको खुसी लुटिएको गंगाजमुना गाउँपलिका–१ ताजिमग्राङका इमान तामाङले बताए । कृषि पेशामा नै निर्भर हुँदै आइरहेका यस क्षेत्रका किसानहरूको खेती नफस्टाउनेगरी बिगारेर असिनाले किसानको खुसी लुटेको उनको भनाई छ ।

हिउँदमा कडा परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा यसरी एक्कासि असिना पानीले सखाप पारेपछि यहाँका किसानलाई बर्खामा के खाने भन्ने निकै चिन्ता परेको छ । खनियाबासको झार्लाङ, रुविभ्यालीको तिप्लिङ र गंगाजमुनाको रिगाउँ आसपासको आलु र मकै देशभर प्रख्यात छ ।

About The Author

Loading...

अन्य समाचारहरु: