Sat. May 18th, 2024

वैशाख ३१ गते बागमती प्रदेशसभाको बजेट अधिवेशन

हेटौँडा – बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरू सहमत भएका छन् । शुक्रवार हेटौँडामा बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।


‘वैशाख ३१ गते बागमती प्रदेशसभाको अधिवेशन आह्वान गर्ने गरी सरकारले सिफारिस गर्ने सहमति भएको छ’, थपलियाले भने, ‘जेठ १ मा प्रि बजेट छलफल, १५ गते नीति तथा कार्यक्रम पेस, असार १ गते बजेट पेस गर्ने गरी संसद्को क्यालेन्डर बनाउन पनि दलहरूबिच सहमति जुटेको छ ।’

त्यस्तै बजेटमाथिको विगतको कमजोरी सुधारेर सन्तुलित र व्यवहारिक बजेट बनाउन पनि दलहरू सहमत भएका छन् । यसअघिको बजेट सन्तुलित नभएको भन्दै विरोध भएको थियो ।
सर्वदलीय बैठकले प्रदेशसभाका पाँच संसदीय समिति सभापति चयनका लागि दलका प्रमुख सचेतकहरू सदस्य रहेको कार्यदललाई सहमति जुटाउन अनुमति दिने निर्णय पनि गरेको छ ।कार्यदलले जेठ ४ सम्म समिति सभापतिका लागि सहमति जुटाउन नसके निर्वाचन प्रक्रिया अघि बढाउनेबारे दलहरू सहमत भएका छन् ।
सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले समिति सभापतिमा मुख्य पाँच दललाई एक एक समिति सभापति दिने गरी प्रस्ताव पेस गरेका थिए । कार्यदलले यसैलाई आधार बनाएर टुङ्ग्याउने नेताहरूको दाबी रहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: