Sat. Jul 27th, 2024

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको निर्माण कार्य तीव्र

काठमाण्डौ – दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । भारतीय पक्षले निर्माण गरिरहेको एक सय १० मिटर लम्बाइको पुलको काम धमाधम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

यो मोटरेबल पुल २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् थिए । मोटरेबल पुलमा अहिले स्टिल ब्रिज राख्ने काम भइरहेको छ ।

दार्चुलाको महाकाली नगरपालिका वडा–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्रमा नेपाल–भारत जोड्ने पुल बनिरहेको छ । पुल भारतीय कम्पनी पीएण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको छ । ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण थालिएको हो ।

जिल्लामै पहिलो पटक महाकाली नदीमा पक्की पुल निर्माणले स्थानीयवासी खुशी भएका छन् । द्विपक्षीय निर्माण सम्झौतानुसार यो पुलको निर्माण कार्य यसै वर्ष सकिनुपर्ने छ । पुल निर्माण सम्पन्न भएपछि सरकारी र नागरिकस्तरमा दुई देशको सम्बन्ध थप बलियो हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने स्थानीयवासी रविन्द्रसिंह धामीले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: