
गोरखा – सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी नम्बर २९ गुल्म गोरखाको मातहत रहने गरी चुमनुब्री गाउँपालिका–१ साम्दोमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
बीओपी गोरखा सदरमुकामबाट एक सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ । समुद्री सतहतदेखि तीन हजार आठ सय ७५ मिटरको उचाइमा स्थापना भएको बीओपीबाट १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुइला नाका रहेको छ ।
नेपाल र चीन सीमा क्षेत्रमा स्थापना गरिएको बीओपीले विपद्जन्य घटना, हिमपात, हिमपहिरोमा परेका नागरिकको उद्धार, अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा इलाकाको निगरानीलगायत काम गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।