Sun. Jul 21st, 2024

हिउँ हराएको सगरमाथा कालो पहाड मात्रै, अस्तित्व जोगाउन आरोहणमा कडाइ

काठमाडौँ -जलवायु परिवर्तन विश्वव्यापी समस्या बनिरहेका बेला नेपालका हिमाल समेत उच्च जोखिममा परेका छन् । सेताम्मे देखिने हिमालहरू आजकल काला पहाड मात्र देखिन थालेका छन् । हिमालबाट हिउँ हराउँदै जानुमा जलवायु परिवर्तन मुख्य कारक मानिएको छ, जलवायु परिवर्तमा मानवीय क्रियाकलाप जिम्मेवार छन् ।

पछिल्लो समय नेपालका हिमालहरूको हिउँ पग्लिने क्रम बढेको छ । विश्व तापमानमा वृद्धि भएसँगै हिमालको हिउँ पग्लेर हिमपैह्रो जाने, हिमनदी हराउने तथा हिमताल फुट्ने खतरा बढेको छ । यससँगै संसारकै उच्च टाकुरो सगरमाथा समेत हिउँ पग्लेर कालो पहाड मात्र देखिन थालेको छ । सगरमाथा आरोहरण गर्न विश्वभरिका आरोहीहरूको लाम लाग्ने गरेको छ । यसले सगरमाथामा प्रदूषण समेत उत्तिकै बढाएको छ । सगरमाथा चढ्ने लहड चलेका बेला सगरमाथा स्वच्छ राख्ने र हिउँ जोगाउने चुनौती समेत बढेको छ ।

सरोकारवालाहरूले त सगरमाथा आरोहणमा कडाइ गर्नुपर्ने बताउँदै आएका छन् । यसबारे संसददेखि राष्ट्रिय मञ्चहरूमा कुरा उठेको छ । गत सालको असारमा राष्ट्रिय सभामा सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण मापदण्डमा कडाइ गर्न र कानुनमै स्पष्ट व्यवस्था गर्न माग गरेका थिए । सगरमाथामा कुन रुटबाट चढेकालाई मान्यता दिने, कति उचाइमा पुगेपछि चढेको मानिने र प्रदूषण न्यूनीकरणबारे स्पष्ट व्यवस्था गर्न उनको माग थियो । सांसद शेर्पाले पर्यटनले विकास मात्रै नभई विध्वंस पनि निम्त्याउन सक्ने भएकाले सगरमाथा क्षेत्रमा पर्यटकहरूले गर्ने प्रदूषणबारे सरकार गम्भीर छ कि छैन भनी प्रश्न उठाएका थिए ।

आज ९बुधबार० सरकारले ७१ औँ सगरमाथा दिवस मनाएको छ । सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरूको संरक्षणका लागि पहलकदमी हुन नसकेको बताए । उनले सगरमाथा आरोहण मापदण्डमा कडाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । जलवायु परिवर्तनको चपेटामा नेपाल परेको बताउँदै उनले हिमनदीहरू क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने समस्या चिन्ताको विषय रहेको बताए । सगरमाथा चढ्नका लागि ८ हजारमाथिका हिमाल चढिसकेकाहरूलाई मात्र अनुमति दिनुपर्ने उनको प्रस्ताव छ ।

हाल ६ हजार मिटरमाथिका हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था कायम छ । यस नियमलाई हटाएर ८ हजार मिटरमाथिका हिमाल चढेपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाउनु उचित देखिएको छ । यसो गर्दा सगरमाथा आरोहणका लागि आउने भीड कम हुनेछ र त्यहाँ प्रदूषणको मात्रा समेत घट्नेछ । विभिन्न कीर्तिमान बनाउन संसारभरिबाट सगरमाथा आरोहण गर्न आउने पर्यटक बढिरहेका छन् । यसले सरकारको राजश्व त बढ्ला तर हिमालमाथि खतरा पनि उत्तिकै बढिरहेको छ ।

सन् २०२३ सम्ममा करिब ८ हजार जनाभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको तथ्य छ । तर जोखिमपूर्ण भूगोल भएकाले हालसम्म ३०० जनाभन्दा बढी आरोहीले सगरमाथामा ज्यान समेत गुमाएका छन् । जलवायु परिवर्तनकै कारण हिमजन्य विपद् समेत बढेका छन्, जसले गर्दा आरोहीको मृत्यु र हिमाली क्षेत्रका बस्तीहरूमा समेत जोखिम पैदा भएको छ । सन् २०१४ मा सगरमाथा क्षेत्रमा ठूलो हिमपहिरो जाँदा १६ आरोहीको मृत्यु भएको थियो । २०७२ को भूकम्पका बेला पनि त्यहाँ हिमपहिरो जाँदा २२ जनाको मृत्यु भएको थियो । यस्ता विपद्का घटना बर्सेनि बढिरहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: