Sun. Jul 21st, 2024

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

काठमाडौँ – नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो ।

विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले  जानकारी दिए । उनका अनुसार चालु आवको जेठ १५ गतेसम्म नेपालबाट रु एक अर्ब २८ करोड २५ लाख १८ हजार नौ सय ४६ को फेल्टबाट बनेका हस्तकलाका सामग्री विदेश निर्यात भएको छन् ।

नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, हाड सिङबाट बनेका, सेरामिक सामान, सुर्तीजन्य वस्तु, स्फटिकजन्य, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेशाजन्य, चाँदी गरगहना, हस्तकला, काष्ठकला र उलनजन्यलगायत सामान विदेशमा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए ।

उनका अनुसार चालु आवमा धातुजन्य पदार्थबाट बनेका हस्तकला रु ९० करोड १८ लाख १९ हजार चार सय ७२, उलनबाट बनेका रु १९ करोड ५२ लाख ६९ हजार आठ सय ९०, नेपाली कागजजन्य रु १८ करोड ५२ लाख ९६ हजार आठ सय ६६, मोतीबाट बनेका रु १६ करोड चार लाख १६ हजार छ सय ३६ बराबरका सामग्री निर्यात भएका छन् ।

काठका रु आठ करोड ७७ लाख ५५ हजार आठ सय छ, कपासका रु पाँच करोड ६२ लाख ६९ हजार चार सय ७६, सिसाजन्य हस्तकलाका सामग्री रु चार करोड ३४  लाख ३८ हजार दुई सय ५१, नेपाली धूपजन्य रु तीन करोड ३९ लाख ३१ हजार सात सय ९७ निर्यात भएको छ ।

अल्लो, बाँसजन्य, ढाकाका कपडा, भाङबाट बनेका कपडा, छालाजन्य पदार्थ, पश्मिनाका कपडा, प्लास्टिकजन्य सामग्री, सिल्क, सिल्भर र ढुङ्गाबाट बनेका हस्तकलाका सामग्री ठूलो मात्रामा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए । उनका अनुसार यहाँ उत्पादित हस्तकला छिमेकीमूलुक भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, बेलायत, अष्ट्रेलिया, सिङ्गापुरलगायत देशमा निर्यात हुने गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: