Mon. Oct 28th, 2024

ट्वान्टी–२० विश्वकप :पहिलोपटक दक्षिण अफ्रिकासँग खेल्दै नेपाल

काठमाडौं– आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासामु नेपालले चुनौती प्रस्तुत गर्दा यो अन्तर्राष्ट्रिय क्रिकेटमै यी दुई टिमबीचको पहिलो भेट बन्नेछ ।

दोस्रोपटक विश्वकप खेलिरहेको नेपालले शनिबार बिहान वेस्ट इन्डिजको किंग्सटाउनमा अफ्रिकी टोलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘डी’ बाट अन्तिम खेलअगावै सुपर–८ मा स्थान निश्चित गरिसकेको दक्षिण अफ्रिका शतप्रतिशत जितको लक्ष्यमा छ ।

यता, नेपाल भने जितसहित सुपर–८ को सम्भावनालाई समूह चरणको अन्तिम खेलसम्म कायम राख्न चाहन्छ । सेन्ट भिन्सेन्टस्थित अर्नोस भाल मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा पनि रोहितले सुपर–८ मा प्रवेश गर्न नेपालले दुवै खेल जित्नुपर्ने अवस्थाबारे जानकार रहेको बताउँदै चुनौतीका लागि तयार रहेको प्रतिक्रिया दिए । “यो प्रतियोगितामा दक्षिण अफ्रिकाले राम्रो खेलिरहेको छ । बंगलादेश पनि राम्रो टिम हो । र, हामीलाई सुपर–८ मा पुग्न दुवै खेल जित्नुपर्छ भन्ने राम्रो जानकारी छ । हामी आगामी चुनौतीका लागि तयार छौँ,” रोहितले भने ।

विश्वकपको पहिलो खेलमा नतिजा नेदरल्यान्ड्सलाई सुम्पिए पनि अमेरिकाको टेक्सासस्थित ड्यालमा पुगेका सात हजार लगावपूर्ण समर्थकका कारण नेपाली विश्वभरका सञ्चारमाध्यमको चर्चामा रह्यो । दोस्रो खेल वर्षाका कारण रद्द हुँदा पनि फ्लोरिडामा नेपाली समर्थकको चाप उत्तिकै थियो ।

खेलअघिको पत्रकार सम्मेलनमा रोहितले नेपाली समर्थक सेन्ट भिन्सेन्टमा पनि टिमको हौसला बढाउन आउनेमा आशावादी रहेको बताए । “हामी विश्वकपमा रमाइरहेका छौँ । हामीमध्ये धेरैको यो पहिलो विश्वकप हो । यसैकारण पनि हामी यसमा रमाइरहेका छौँ । हामीलाई पछिल्लो दुई तीन वर्षदेखि उनीहरूले समर्थन गरिरहेका छन् । नेपाली समर्थक यहाँसम्म पनि आइपुग्छन् भन्ने आश लिएको छु ।”

About The Author

अन्य समाचारहरु: