Mon. Oct 28th, 2024

काठमाण्डौको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । हिजो भएको १५ औँ नगरसभामा महानगरपालिका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । ‘सांस्कृतिक शहर समृद्ध महानगर’को नारा काठमाण्डौ महानगरको सांस्कृतिक पहिचानलाई दिगो बनाउँदै जीवन्त सहरको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कम्तीमा २० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने गरी नयाँ दर्ता हुने व्यवसायीलाई सुरुको ३ वर्ष व्यवसाय करमा शतप्रतिशत कर छुट दिने महानगरले घोषणा गरेको छ । यस्तै महानगर क्षेत्रभित्र जाँडरक्सी, चुरोट सूर्ति र लागू औषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ । जङ्क फुड प्रयोगलाईसमेत निरुत्साहित गरिने घोषणा भएको छ ।

महानगरले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’बनाउने योजना बनाएको छ । महानगर क्षेत्रका सहकारीका कारोबारलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने, सहकारी सूचना केन्द्र बनाएर सुशासनलाई प्रभावकारी बनाउने, विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुद अनिवार्य गर्ने, विद्यार्थीको क्षमता विकासका लागि शैक्षिक र भौतिक पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

काठमाण्डौ महानगरले निजी तथा सामुदायिक विद्यालयको छात्रवृत्तिलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने, पढ्दै कमाउँदै अवधारणा अनुसार विद्यार्थीलाई पार्ट टाइमको कामको व्यवस्था मिलाउने घोषणा पनि गरेको छ । सामुदायिक विद्यालयका रिक्त शिक्षकका ठाउँमा विभिन्न विश्विद्यालयका ‘गोल्ड मेडलिस्ट’विद्यार्थीले करारमा भर्ना दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

About The Author

अन्य समाचारहरु: