Mon. Oct 28th, 2024

निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध डेढ करोड ठगी मुद्दा

काठमाडौं – फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

२१ जेठमा प्रहरी वृत्त मालीगाउँले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो । त्यसपछि उनलाई २३ जेठमा हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो । यो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरु तीन जनाविरुद्ध ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । सो फिल्म निर्माण गर्दा थापा निर्देशक र श्रेष्ठ सम्पादक थिए ।

छायांकनको काम सकिएपछि सम्पादन गर्नुपर्ने जिम्मा मिलनको थियो । त्यसपछि इनकमिङको लागि डीसीएन कम्पनीमा पठाउने र डीसीएनले नै विभिन्न डिजिटल कम्पनीहरुलाई बिक्री गरी सम्झौताको प्रतिलिपी र मुञ्जुरीनामा दिएपछि उनहिरुले सम्झौता विपरीत काम गरेको आरोप निर्माता बस्नेतले लगाएका थिए ।

निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर निर्मातालाई कुनै जानकारी नै नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख बराबरको हानी पुर्‍याएको आरोप लगाइएको थियो ।

निर्माताको जानकारी र अनुमति बिनै ओएसआरले १९ फागुन २०७९ मा चलचित्र प्रदर्शन गरेको, अमेरिका, अष्ट्रेलिया, दुबई, कतार लगायतका मुलुकमा समेत आफूखुसी बिक्री वितरण गरेर आपराधिक विश्वासघात गरेकोे निर्माताको आरोप थियो ।

अनुमतिबिना ओएसआरको युट्युबबाट चलचित्रमार्फत ६० लाख, विदेशी मुलुकहरुबाट ९० लाख गरी १ करोड ५० लाख समेत आर्जन गरेर ठगी गरेको निर्माता बस्नेतको आरोप थियो ।

About The Author

अन्य समाचारहरु: