Mon. Oct 28th, 2024

विदेशी चराका लागि उत्कृष्ट गन्तव्य बन्दै रूपा ताल

कास्कीको रूपा ताल विदेशी चराका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । रूपा तालमा झन्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेका पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । हरेक वर्षको हिउँद र वर्षाको समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उनले जानकारी दिए।

विशेषगरी हिउँदको समयमा शिकारी प्रजातिका चरा र वर्षाको समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ । पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रूपा ताल पनि हो । रूपा तालले बर्सेनि झन्डै ५० लाख रुपैयाँ बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ ।

हरेक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले ५० लाख रुपैयाँभन्दा धेरै मूल्य पर्ने माछा खाएर जाने गरेको रूपा ताल पुनर्स्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए ।

विशेषगरी पुस, माघको समयमा तीन महिना साइबेरियालगायत ठाउँबाट रूपा तालमा आउने दुई सय ५० वटा सङ्ख्याका जलेवाको आहारा माछा नै हो । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरेर माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए । सहकारीले वार्षिक दुई करोड रुपैयाँ बराबरको माछा उत्पादन गर्दै आएको छ ।

About The Author

अन्य समाचारहरु: