Mon. Oct 28th, 2024

देउवा र ओलीबीचको सहमति कांग्रेस बैठकमा अनुमोदित

काठमाडौं । वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सत्ता समीकरण बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको छ।

बुधबार बिहान पार्टी सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको बैठकले उक्त सहमति अनुमोदन गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। ‘हाम्रो पार्टी सभापति र नेकपा एमाले अध्यक्षबीच जुन सहमति भएको थियो, त्यो सहमतिलाई केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको छ,’ उनले भने।

त्यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न समेत आग्रह गरेको महतले जानकारी दिए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रसस्त गर्न पनि आग्रह गरेको छ।’

देउवा र ओलीबीच सोमबार मध्यरातमा भएको सहमतिमा प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउने र संधिवान संशोधन गर्ने लगायतका विषय रहेको नेताहरूले बताएका छन्।

उक्त सहमति अनुसार सुरुमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् भने त्यसपछि देउवाले चुनावसम्मै सरकारको नेतृत्व गर्नेछन्।

About The Author

अन्य समाचारहरु: