Mon. Oct 28th, 2024

नौविसे–मलेखु सडकखण्ड १५ दिनका लागि रातीमा बन्द गरिने

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे–मलेखु सडक खण्ड १५ दिनका लागि रातको समयमा बन्द गरिने भएको छ । असार २६ गते बुधबारदेखि साउन ९ गते बुधबारसम्म रातीको समयमा निर्माणको काम गर्न लागिएको हो ।

राती १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको विम राख्ने कार्य गर्न लागिएको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वर बहादुर रिजालले बताए । नौविसे नागढुंगा खण्डमा निर्माण हुँदै गरेको पुलको विमलाई उचालेर पुलमा राख्नको लागिएको र त्यसबेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए ।

गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलहरुको गडर लन्चिङ गर्न लागिएको छ । दिउसोको समयमा गाडीको चाप बढी हुने भएकोले रातीको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताए ।

‘पुलको आरसिसि विम (प्रिकास्ट ब्रिज गर्डर) पुल भन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुबैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्नुपर्नेछ’, इन्जिनियर रिजालले भने–‘काम नयाँ पुलमा हुने भएपनि पुरानो पुलसँगै रहेकोले काम गर्ने क्रममा आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सडक सवारी रोकेर काम गर्न लागिएको हो ।’

हेभी इक्वीकमेन्टको प्रयोग भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकोले सवारीको चाप नहुने समय (रातीको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनलाई पूर्ण रुपमा रोकिनेछ ।

एम्वुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द रहनेछ । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरुलाई वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिनेछ।

About The Author

अन्य समाचारहरु: