Sat. Jul 5th, 2025

धादिङसहित ३ जिल्लामा अति ठुलो वर्षा, सर्तकर्ता अपनाउन आग्रह

काठमाण्डौ – आज दिउँसो देशका केही ठाउँमा अति ठूलो पानी परेको छ । धादिङको गजुरी र काभ्रेको पाँचखालमा पछिल्लो एक घण्टामै २३ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । धादिङको गजुरीमा राजमार्ग आसपास ठूलो पानी परेकोले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पछिल्लो तीन घण्टामा सिन्धुलीको कुसुमटारमा ६२ मिलिमिटर वर्षा भएको छ । यस्तै सोलुखुम्बुको पेकनास, धादिङको गजुरी, पर्वतको पन्चासे, दैलेखलगायतका ठाउँमा पनि अति ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर धादिङको गजुरी आसपास त्रिशूली नदी, सिन्धुलीको मरिणखोला र आसपास, गोरखाको बारपाक र आसपास, काठमाण्डौ उपत्यकाको बाग्मती र बाग्मतीका अरू सहायक नदी, चितवनको शक्तिखोर र आसपासलगायतका क्षेत्रका साना ठूला नदीहरूमा बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा अति ठूलो वर्षा गराइरहेको प्रणाली रातिसम्म नै सक्रिय रहन सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिए । अहिले नेपालमा मनसुनी वायुसहित वर्षा गराउने मिश्रित प्रणालीको प्रभाव रहेको उनले बताए ।

भारतको गुजरात आसपास न्यून चापीय क्षेत्र बनेको छ । बङ्गालको खाडीको उत्तरी कुना झारखण्डमा एउटा र गुजरात आसपास अर्को न्यून चापीय क्षेत्र बनेको र त्यहाँबाट जलवाष्पयुक्त हावा यहाँ आइरहेको मौसमविद् झाले बताएका छन् ।

About The Author

अन्य समाचारहरु: