काठमाण्डौ – भोजपुरको षडानन्द गाउँपालिकाका प्रकाश मोक्तानलाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेका छन् ।
प्रकाश सानैदेखि चुमभ्यालीमा बसेको र घर परिवारसमेत थाहा नपाएको विषय युट्युब च्यानल हेर्ने कथा मार्फत बाहिर आएका थिए । प्रकाशको घरपरिवार मात्रै नभई अहिलेसम्म नागरिकता नै नबनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गरेका थिए।
आज प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उज्यालोलाई जानकारी दिए । इलाका प्रशासन कार्यालयका दिङलाका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं, वडाअध्यक्ष प्रेम दोर्जी शेर्पा लगायतले प्रकाशलाई नागरिकता प्रदान गरेका हुन् ।
षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले अब प्रकाशलाई उनको योग्यताअनुसारको रोजगारी दिने बताएका छन् । ‘विभिन्न दाताहरूले उनको घर बनाउने काम शुरू गरिसकेका छन् । अब रोजगारीको कुरा आउँछ, उनको योग्यताअनुसारको रोजगारी दिन नगरपालिका तयार छ । रोजगारी चाहियो भने सम्पर्क गर्नुहोस् भनेको छु । तर अहिले प्रकाश समाजसँग घुलमिल नभएकाले कुनै पनि विषयको मेसो पाउनुभएको छैन, उहाँ तयार हुनासाथ हामीले योग्यताअनुसारको रोजगारी दिन्छौं’, उहाँले भन्नुभयो ।