Wed. Dec 4th, 2024

१५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे पुनः लाइन काटिन्छ : कुलमान घिसिङ

काठमाडौँ -विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी-व्यवसायीहरुले सरकारको निर्देशनअनुसार बक्यौता नतिरेमा उद्योगहरूको विद्युत लाइन पुनः काटिदिने बताएका छन् ।

बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुसँग विद्युत बक्यौता उठाउन निर्देशन दिएको भन्दै त्यसको कार्यान्वयन प्राधिकरणले उद्योगको लाइन जोडेर शुरु गरेको बताए । उनले नेपाल सरकारको निर्देशनअनुसार उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता १५ दिनभित्र बुझाउनुपर्ने बताए । १५ दिनको अवधिमा बक्यौता नबुझाएमा प्राधिकरण आफ्नो प्रक्रियामा फेरि पनि लाग्ने चेतावनी दिए ।

साथै, १५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मा नेपाल सरकार र ऊर्जा मन्त्रालयले लिनुपर्ने समेत उनले बताए । निर्देशक घिसिङले प्राधिकरणले कानूनी रूपमा बक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्न निर्देशन प्राप्त भएकाले कार्यान्वयन गर्न प्राधिकरण बाध्य भएको बताए । प्राधिकरणले विभिन्न समयमा गरी तीनपटक लाइन काटेकोमा नेपाल सरकारले गरेको निर्णयअनुरूप जोडिरहेको भन्दै अहिले पनि सरकारको निर्देशन र निर्णयलाई प्राधिकरणले पालना गरेको बताए ।

कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरण ऐन, २०४१ मा नेपाल सरकारको निर्देशन पालना गर्नुपर्ने कानूनी व्यवस्था रहेको भन्दै त्यो व्यवस्थालाई सम्मान गर्दै कानूनी रूपमा काटिएको लाइन नेपाल सरकारको प्रशासनिक निर्णयबाट जोड्ने चरणमा रहेको स्पष्ट पारे ।

About The Author

अन्य समाचारहरु: