धादिङ– धादिङमा बहिरा बालिकालिकाबीच मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता गरिएको छ । नेपालका विभिन्न जिल्लाबाट धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित स्वाबलम्वी बहिरा आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाबीच चम्चा गुच्चा दौड, बेलुन फुटाई, बिस्कुट खाने प्रतियोगिता गरिएको हो ।
३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङले आयोजना गरेको प्रतियोगितामा बालबालिकाहरुले उत्साहपूर्ण सहभागिता जनाएका थिए । यस्ता प्रतियोगिताहरूले उनीहरूको क्षमतालाई उजागर गरी समाजलाई थप समावेशी बन्न प्रेरित गर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । यसले सिर्जनात्मक क्षेत्रहरूमा अद्भुत योगदान पु¥याउन सहयोग गरेको पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले प्रष्ट पारे ।
बोल्न र सुन्न नसक्ने बालबालिकाहरूको आत्मविश्वास बढाउन तथा प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङकी प्रहरी नायव उपरीक्षक लक्ष्मी थपलियाको भनाई छ । ‘बोल्न र सुन्न नसक्ने बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूको आत्मविश्वास अभिवृद्धि गराउने हाम्रो उद्देश्य हो, यो प्रतियोगिताले समावेशीता र समानताप्रतिको सन्देश प्रवाह गर्ने विश्वास छ’, थपलियाले भने ।
हातको इसाहारा तथा संकेतबाट संवाद गर्ने बालबालिकाहरूले खेलमा आफ्ना सपना र साहसलाई रंगीन बनाउँदै जीवनको एक अद्वितीय उत्सव प्रस्तुत गरेका थिए । तीन वटै प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय बालबालिकालाई पुरस्कृत गरिएको छ ।
कार्यक्रमकै अवसर पारेर एक महिनाभित्र जन्मदिन परेका गुल्मका सुरक्षाकर्मीहरु र बुधबार (आज )जन्मदिन परेका कार्यक्रममा सहभागी बालबालिकाहरुको सामुहिक जन्मदिन मनाइएको छ ।