
काठमाडौं । भारत–पकिस्तान युद्ध चर्किने देखिएको छ । बुधबार एकाबिहानै भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेसँगै पाकिस्तानले जवाफी कारबाही सुरु गरेपछि यी दुई देशबीच युद्ध चर्किने संकेत देखिएको हो ।
पाकिस्तानले बुधबार भारतमाथि बदला लिने घोषणा गरेको छ । यससँगै भारतले वायु, समुद्र र स्थल सेना हाई अलर्टमा राखेको छ । भारतीय मिडियाहरुका अनुसार जतिखेर जे पनि हुन सक्ने भन्दै भारतीय सेना हाई अलर्ट भएका छन् ।
पाकिस्तानले बुधबार जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा बमबारी गर्दा १५ जना मारिएको र ५० बढी घाइते भएको छन् । त्यसलगत्तै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्ट जारी गरेको हो ।
सीमा रेखानजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
पाकिस्तानले जवाफी कारवाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै तीन तिरैबाट सेना हाई अलर्ट रहनुपरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।