
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर यस्तो बताएको हो ।
सामाजिक सञ्जालमा ‘नेपाल सरकार र कोरिया सरकारबीच कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका पालिकाले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने बेहोराको पत्र प्रेसित भएको भेटिएको भन्दै मन्त्रालयले यो सत्य नभएको बताएको छ ।
यसअघि मन्त्रालयले माघ २०८१ मा समेत स्पष्टीकरण सार्वजनिक गर्दै सम्झौता नभएको बताएको थियो । विज्ञप्तिमा मौसमी कामदारका विषयमा अहिलेसम्म कुनै मितिमा कुनै पनि सूचना आह्वान नभएको तथा आधारहीन र तथ्यहीन विषयमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरिएको उल्लेख छ ।