Sat. Jul 5th, 2025

सात दिनमै खुल्न सक्छ तातोपानी

uttar ko naka
तातोपानी – सरकारले अविलम्ब कूटनीतिक पहल थाले सातापछि नै उत्तरको मुख्य तातोपानी नाका खुलाउन सम्भव देखिएको छ। भूकम्पले अवरुद्ध चीन जोड्ने अरनिको राजमार्गअन्तर्गत तातोपानी नाका खुलाउने काम अन्तिममा पुगेकाले तत्काल आपूर्ति सम्भव देखिएको हो।

वैशाख १२ को शक्तिशाली भूकम्प र लगातार अनुकम्पन एवं बर्खाको बाढीपहिरोले पाँच महिनादेखि यस नाका बन्द छ। राजमार्गले नाका छुट्ट्याउने मितेरीपुल जोड्न करिब २ सय मिटर मात्र बाँकी छ। लिपिङबजारसम्म सडक अवरोध पन्छाउने काम सकिएको छ। पुलको सय मिटरवर सडकमै थुप्रिएको चट्टाने पहिरो हटाउनु अहिलेको प्राथमिक चुनौती हो। यो पहिरो हटाएपछि राजमार्गले नाका जोडिन्छ।

झरेको पहिरोले झन्डै सय मिटर दुरीमा फैलिएर १५ मिटर उचाइ लिएर राजमार्ग छेउका घरभन्दा अग्लो भीमकाय चट्टानै चट्टान थुप्रिएको छ। यो पहिरो तत्काल पन्छाउन डिभिजन सडक कार्यालयले सम्पूर्ण संयन्त्र परिचालन गरेको छ। पाँच दिनभित्र चट्टाने अवरोध हटाउन सडक र स्थानीय प्रशासन प्रतिबद्ध छन्।

जुनसुकै विकल्पले अवरोध पाँच दिनभित्र हटाइसक्छौं, बुधबार नाकाको अवस्था अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले नागरिकसँग भने, माथिबाट कूटनीतिक पहल थाले सातापछि नै आपूर्ति सम्भव देखिएको छ।नाका सडकले जोडिन लागेपछि उत्साही उनले कूटनीतिक पहलका लागि माथिल्ला निकायमा अनुरोध गर्ने बताए।

भारतीय नाकामा अघोषित नाकाबन्दीु ले आपूर्ति प्रभावित भएपछि सरकारको ध्यान उत्तरी नाका खुलाउन केन्द्रित छ। त्यसअघि सरकारले उत्तरका नाका खुलाउन खासै चासो दिएको थिएन। डिभिजन सडक कार्यालयले भदौ १५ बाट आफ्नै स्रोत, साधन र उपकरण भरमा नाका खुलाउन थाले पनि त्यसले गति लिन सकेको थिएन।

दक्षिणी नाकामा जारी तनाबले आपूर्ति असहज बनिरहँदा चीन दसैंअघि नै तातोपानी र रसुवागढी नाका खुलाउन सकारात्मक देखिएपछि सडक अवरोध हटाउने कामलाई तीव्रता दिइएको हो।

चीनले सडक अवरोध हटाए नाका खुलाउन सकारात्मक रहेको जनाउ सरकारलाई दिइसकेको छ। एक्सकाभेटर, डोजर, लोडर, ड्रिलसहितका आठ उपकरण चट्टान पन्छाउन चलाइएका छन्। ुसडकले थप शक्तिशाली उपकरण बिहीबार नाकामा उतार्दैछ। त्यसले नसके अर्को झिकाउँछौं, प्रजिअ गिरीले भने।

उपकरणलाई आवश्यक पर्ने पेट्रोलियस सबैतिरबाट मागेर जुटाइएको उनले जनाए। क्षतिग्रस्त मितेरीपुलमा साउनमै चीनले ुबेलिब्रिजु राखिसकेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले नाका खुलाउन चिनियाँ अधिकारीसँग कूटनीतिक पहल थालेपछि सडक विभागलाई सडक अवरोध हटाउन दबाब सिर्जना भएको हो।

विभागका महानिर्देशक माधव कार्कीलगायत अधिकारीले सोमबार नाका अवलोकन गरेका थिए। लगत्तै काठमाडौं फर्केर उनले पाँच अत्याधुनिक उपकरण पठाएका थिए। यसअघि चीनले नै राजमार्ग खुलाउने भन्दै विभाग चुपचाप बसेको थियो। डिभिजनलाई तत्काल अवरोध हटाउन निर्देशन दिँदै कार्कीले उपकरण र पैसा अभाव हुन नदिने बताएका थिए।

राजमार्ग अवरोध पन्छाउन साउनयता डिभिजनलाई ३५ लाख रुपैयाँ ऋण लागेको छ। विभागले निकासा नदिँदा डिभिजनलाई स्थानीय व्यापारीले पेट्रोलियम पदार्थ दिन आनाकानी गरिरहेका छन्।

भूकम्पपछि राजमार्ग अवरोध हटाउन थालिएको यो पाँचौंपटक हो। यसअघि डिभिजन, व्यापारी र चीन सरकार पहलमा अवरोध हटाइए पनि पहिरोले पुनः उस्तै बनाएको थियो। लिपिङको पहिरो एक महिनाअघि मात्र खसेको हो।

सडक पन्छाउँदै अघि बढ्दा भीमकाय चटाने पहिरो भेटिएको थियो। तत्काल अबरोध पन्छाउने गरी काम थालिए पनि यो पहिरोले केही दिन ढिला हुन पुगेको डिभिजन इन्जिनियर रामबहादुर गुरुङले बताए। ुभूकम्पले थिल्थिलो जमिनमा विष्फोटक पदार्थ प्रयोग गर्न सक्ने अवस्था रहेन। नजिकै पुल पनि छ,ु उनले भने।

पहिरो पन्छाउँदा स्थानीयका पाँचवटा घरमा क्षति पुग्ने अवस्था छ। स्थानीयले घरमा क्षति पुगे पनि जहिला राजमार्ग सुचारु गरेर नाका खुलाउन स्थानीय प्रशासनलाई सहमति दिएका छन्।

बिहीबारै उनीहरुले घरको बेवास्ता गरी चट्टान पन्छाउन मन्जुरी दिए। नाका उसैपनि चल्नु पर्थ्यो। यही बेला भारतीय नाका पनि बन्द छ। हामी बाधक बन्नु हुन्न, स्थानीय घरधनी कनी शेर्पाले भनिन्।

भूकम्प र पहिरोले २६ किमी लामो बाह्रबिसे–तातोपानी खण्ड क्षतविक्षत बनाएको थियो। पूरै सडक क्षतविक्षत नभई ठाउँ–ठाउँ मात्र पहिरोको प्रकोप देखिएको हो। राजमार्गको चाकुबजारदेखि तातोपानी दुरीमा धेरै पहिरो छन्। यो क्षेत्र अघिपछि बर्खामा पनि पहिरो गइरहने क्षेत्र हो। अहिलेको पहिरोको हरेक बर्खायामको भन्दा केही बढी मात्रै हो, ज्यादै होइन। एक–दुई ठाउँमा सडक ट्र्याक फराकिलो पार्नुपर्ने देखिए पनि अवरोध पन्छाएर राजमार्ग साबिकबमोजिम फराकिलो बनाइएको छ।

वाणिज्य सचिव नइन्द्र उपाध्याय नाका खुलाउन चीनसँग कूटनीतिक पहल जारी रहेको बताउँछन्। राजमार्ग खुल्नै लागेकाले छिट्टै नाका खुल्ने उनले दाबी गरे। ुचिनियाँ अधिकारी दसैंअगावै नाका खुलाउन पहिल्यै सकारात्मक देखिएका हुन्। राजमार्ग खुलेपछि दबाब दिन अझै सजिलो हुन्छ, उनले भने। नाका खुलाउने विषयमा नेपालका लागि चिनियाँ राजदूतसँगै छलफल भइसकेको उनले जानकारी दिए।

तत्काल नाका खुलाउन चीन धेरै सकारात्मक रहेको जानकारी दिँदै राजदूतले खासामा भन्सार, अध्यागमन, व्यापारी फर्काउन आफ्नो सरकारले निर्देशन दिनुपर्ने बताएका छन्, सचिव उपाध्यायले भने।

भूकम्पपछि खासाबजार खाली गराइएको छ। सबैलाई त्यहाँबाट करिब ४ सय मिटर दुरीको सिगात्से सारिएको छ। नाकामा चिनियाँ सुरक्षाकर्मी मात्र छन्। बिहीबारको भेटमा सिन्धुपाल्चोकका सुरक्षा अधिकारीले चिनियाँ अधिकारीसँग अनौपचारिक भेट गरी सिगात्सेबारे जानकारी लिएका थिए।

प्रान्तीय राजधानी सिगात्सेमा पर्याप्त पेट्रोलियम पदार्थसमेत आइपुग्ने चिनियाँ अधिकारीले बताएको स्रोतले जनायो।
नागरिक दैनिकबाट

About The Author

अन्य समाचारहरु: