२२ मंसिर, धादिङ – लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रयास नेपालले जिल्लाका पाँच गाउँ विकास समितिमा लोकगित प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगिता अन्र्तगत आज धुषा गाउँ विकास समितिको वडा नम्बर १ चरौदी बजारमा भएको लोकगित प्रतियोगितामा धुषाकै हिमालय यूवा क्लवको समूह पहिलो भएको छ । प्रतियोगितामा कालिका आमा समूह द्धितीय, जगलामगला आमा समूह तृतीय र लेकाली आमा समूह सान्त्वना भएका छन् । प्रतियोगी समूहका कलाकारहरुले महिला हिंशा रोकथामका उपायहरु गीतबाटै प्रस्तुत गरेका थिए । विजयी समूहलाई धुषा गाविसका गाविस सचिव चुडामणि पुरीले पुरस्कार स्वरुप नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा महिला संजाल, आमा समूह, यूवा क्लव, गाविसका प्रतिधिनिहरु र राजनीतिक दलका प्रतिनिधिहरुले आ आफ्नो मन्तव्य राख्दै समाजमा हुने गरेको हिंसा न्यूनिकरणका लागि आफुहरु प्रतिवद्ध रहेको बताएका थिए । स्थानीय राजनीतिक दलका तर्फबाट बोल्दै नेकपा एमालेका स्थानीय नेत्री मायाँदेवी शर्माले हिंशा न्यूनिकरणका लागि महिला आफै सक्षम हुनुपर्ने बताइन् । मोबाइल, इन्टरनेटको गलत प्रयोगले विशेषगरी यूवापुस्तामा र अन्यमा समेत हुने गरेका अधिकांश हिंशाहरुका बारेमा बोल्नुहुँदै विकसित संचारको सही सदुपयोग हुने हिसाबले प्रयोग गर्न समेत सुल्झाए ।
अभियान अन्गर्तत इन्फान्ट एण्ड डेभलपमेन्ट, अक्स्फाम धादिङ, यूएमएन धादिङ क्लष्टरको आर्थिक सहयोगमा यस अघि धादिङको गजुरी, र वेनिघाट गाउँविकास समितिमा पनि लोकगित प्रतियोगिता सम्पन्न गरिएको प्रयास नेपालका कार्यक्रम संयोजक उमेश कँडेलले जानकारी दिए । त्यस्तै महादेवस्थान गाविसमा विद्यार्थीहरुबीच निबन्ध प्रतियोगिता र पीडा गाविसमा वतृत्वकला प्रतियोगिताका माध्यमबाट हिंसा विरुद्धका आवाजहरु उठाइएको थियो ।
अभियान अन्तर्गत सहयात्री समाज नेपालद्धारा धादिङको नलाङ गाँउ विकास समितिमा पनि लोकगीत प्रतियोगीता भएको छ ।