Fri. May 16th, 2025

जुत्ता टल्काएको पैसाले दैनिकी धान्नै मुस्किल

kam-gardaiii
रविना पौडेल / १५ साउन,  धादिङ – सर्लाहीका रामबाबु यादव सदरमुकाम धादिङबेसीमा जुत्ता सिलाउने काम गर्छन् । विहान उज्यालो भएदेखि साँझ नपरेसम्म पराइले लगाएको जुत्ता टल्काउनु उनको दैनिकी हो ।  बाटोमा हिँड्दै गरेकाहरुको जुत्ता टल्काउनु उनले रहर होइन बाध्यता हो । पेट पाल्नकै लागि सर्लाहीदेखि धादिङबेसी आएर जुत्तामा पोलिस लगाउने पेशा अंगालेका हुन् ।

सडकमा बसेर उनले च्यातिएर थोत्रिएको जुत्ता सिलाउने र भाँचिएका छाता मर्मत पनि गरिरहेका हुन्छन् । रामबाबु भन्छन् ‘एक जोर जुत्ता टल्काएको हामी ३० रुपैया लिन्छु, पुरै सिलाएको ८० रुपैयाँ लाग्छ ।’ तर मान्छेहरुले काम लगाइसकेपछि भनेको जति पैसा नदिने र दिएपछि थर्काएर थारै पैसा दिने गरेका उनले बताए । पोलिस लगाएर टल्काए बापत उनले ३० रुपैया लिने गरेका छन् । च्यातिएको जुत्ताको छेउ सिलाएको १० रुपैयादेखि ८० रुपैयासम्म पनि लिने गरेका छन् ।

रामबाबु उमेरले २० बर्ष भए । श्रीमती पनि उनको साथमै छ । ‘बिहे नगर्दा त बरु सजिलो थियो, बिहे भइसकेपछि झनै गाहे छ । श्रीमती पनि पाल्नै प¥यो त्यसैले धादिङमा आए, एक जनाले काम गरेर दुई जना पालिनु पर्छ कहिलेकाही त सारै दुःख लाग्छ अब के गर्ने, गाउँमा खेती गरेर खान जग्गा जमिन छैन, अरु काम गर्न पैसा धेरै लाग्न कहाँबाट ल्याउने ? जे गर नगर हाम्रो काम यहि हो’ रामबाबुले दुःख पोखे । सडकमा बसेर दिनभरी काम गरेको पैसाले विहान बेलुकाको खानपान र बिरामी पर्दा औषधी उपचारको जोहो गर्न नसके काम नपाएको दिन भोकै बस्नु र बिरामी परेको दिन थलिनुको अर्काे विकल्प छैन ।

यस अघि १० बर्षसम्म साडीमा बुट्टा भर्ने काम गर्दा खानै धौधौ भएपछि एक बर्ष अघिदेखि उनले जुत्ता टल्काउने, मर्मत गर्ने काम सुरु गरेका हुन् । दुई बर्ष अघि बिवाह गरेको भएपनि श्रीमतिलाई घर बाहिरको काममा लगाउनु हुँदैन भन्ने मान्यताले गर्दा रामबाबु एक जनाले काम गरेर दुई जना पालिनुपर्दा झनै समस्या थपिएको छ । ‘दिनभरी सडकमा कोही आउलान् र कमाई होला भनेर बस्छु, मान्छे आए पनि मागेको मुल्य दिँदैनन् । एक जोर जुत्ता सिलाउँदा हात दुख्छ, ८० रुपैयाँ माग्यो भने ५० मात्र दिएर जान्छन् । श्रम गरे अनुसारको मुल्य पनि पाइदैन ।  नेपाली भएर नेपालमा गरिखान पनि गारो भएको छ । अरु काम गरौ भने सिप छैन । लगानी पनि छैन’ रामबाबुले सुनाए ।

रौताहटका ज्ञानचमा राम पनि २ बर्षदेखि धादिङबेसी स्थित एमाले चोकमा जुत्ता पोलिस गर्ने, सिलाउने, बिग्रिएको छाता मर्मत गर्ने जस्ता काम गर्दै आएका छन् । आँगनमा बसेर जुत्ता सिलाए बापत उनले घरपेटीलाई मात्रै मासिक ५ सय बुझाउनुपर्छ । एक छोरा, एक छोरी र श्रीमतीको खर्च उनले यहिबाट पु¥याउनुपर्छ । जुत्ता पोलिस गर्ने, सिलाउने, बिग्रिएको छाता मर्मत गर्ने कामबाट मासिक ९ देखि १२ हजार सम्म कमाइ हुने भएपनि कहिलेकाँही बोहनी नै नहुने उनको अनुभव छ । दिनभरी जुत्ता पोलिस गराउने र सिलाउनुपर्ने मान्छे नभेटिए बेलुका परिवारको छाक टार्न मुस्लिक हुने उनी बनाउछन् ।

सानै छदा बुबा आमाको मृत्यु भएपछि बेसाहारा बनेका ज्ञानचमा इट्टाभट्टामा काम गर्दै ज्यान पाल्दै आएका थिए । इट्टाभट्टामा सधै आगोमा काम गर्नुपर्ने तातोले छाला डढेर कालो हुने, कपाल डढेर झर्ने र काम गर्न ज्यादै गाह््रो हुने भएकोले इट्टाभट्टाको काम छोडेर यता लागेको उनले बताए । चाडपर्वको बेलामा मानिसहरुले धेरै जुत्ताचप्लहरु किन्ने गरेको भएर त्यो बेलामा आम्दानी अलि धेरै हुन्छ तर पानी परेको बेलामा र बिहान बेलुका त्यति धेरै हुँदैन । त्यही आम्दानीले १ छोरा १ छोरीलाई पढाइ रहेका छन् ।

रामबाबु र ज्ञानचमा त उदाहरणको पात्र  हुन् । रौतहटका गर्बुराम, सप्तरीका जोगिन्द्र राम सडकमा जुत्ता मर्मत गरेर जिवन धान्नेहरु थुप्रैको परिवार धादिङबेसीका बिभिन्न चोकहरुमा भेटिन्छन् । नेपालमा सरकारी तथा गैर सरकारी निकायहरुले बेरोजगार यूवा,  गरिब तथा न्यून आय भएकाहरु, विभिन्न कारणले पछि पारिएकाहरुका लागि थुप्रै अवसरहरु दिइरहेको सुनिरहँदा यिनीहरुले अहिलेसम्म कुनै हौसला पाएका छैनन् ।

बैशाख १२ गतेको भुकम्प पछि पनि थुप्रै स्थानीय तथा अन्तराष्ट्रिय संघसस्थाले साना तथा न्यून आय भएकाहरुको पुनर्रोत्थानका लागि गाउँ गाउँहरुमा समेत पुगेर सहयोगहरु उपलब्ध गराइरहँदा पालभित्र रात काटेर सडकमा जुत्ता पोलिस गर्ने र सिलाउनेहरुलाई पर्खिरहेकाहरुमाथी कसैको आँखा परेको छैन ।

About The Author

अन्य समाचारहरु: