Wed. May 14th, 2025

राजनैतिक दलको दवाब र प्रभाव : टाढाबाठाले मात्रै पाउँछन गाविसको बजेट

labdung-gau

मनिष दुवाडी / २७ साउन, धादिङ – विभिन्न राजनैतिक दलको दवाब र प्रभावको आधारमा उत्तरी धादिङको गाउँ विकास समितिहरुमा पठाइएको बजेट काम नै पुरा नभइ भुक्तानी हुने गरेको फेला परेको छ ।सदरमुकाम धादिङवेशीबाट २ देखी ३ दिनसम्मको पैदल दुरीमा रहेका गाउँ विकास समितिहरुमा नेपाल सरकारले गाविस अनुदान शिर्षक अन्तरगत पठाएको बजेट राजनैतिक प्रभावका आधारमा टाठाबाठाहरुले नै लिने र काम पनि नगर्ने तथ्य खुलेको हो ।

उत्तरी धादिङको तिप्लिङ्ग गाविसको परिषदले निर्णय गरेका साना ठुला स्थानिय योजनामा गाविस सचिवमाथी दवाव र प्रभाव जमाएर स्थानिय माओवादी केन्द्रका कार्यकर्ताले आफनै परिवारका सदस्यलाइ २ देखि ३ वटा योजना संझौता गरि पुरा काम नै नगरि रकम भुक्तानी लिएको फेला परेको छ ।गाउँ विकास समितिको राजनितिक संयन्त्रमा प्रतिनिधित्व गर्ने ब्यक्तिले नै आफ्नै परिवारका सदस्यहरुलाइ अलग अलग योजनाको बजेट दिलाउने गरेको भेटिएको छ ।

हाल अधिकांश समय सदरमुकाममा वसोवास गर्दै आएका तिप्लिङ्ग–७, लवदुङ्ग निवासी माओवादी केन्द्रका गाउं कमिटी अध्यक्ष खो बहादुर तामाङ्गका एकै परिवारका ३ जनाले ३ वटा योजना सम्पन्न गर्न ३ लाख १५ हजार रकम भुक्तानी लिएका छन ।खोबहादुरकी बहिनी छेमाया तामाङ्गले महिला शसक्तिकरणमा ५० हजार, भाई टेरेन्स तामाङ्गले उन्नत कृषि वीउ वितरण १५ हजार र खो तामाङ्गले ग्रामिण सडक सुधारको अढाई लाख रकम गाविस वाट लिएका थिए । महिला शसक्तिकरणमा कुनै पनि कार्यक्रम नभएको गाविसकै स्थानियहरु बताउछन ।

त्यस्तैगोरेटो बाटो सुधारको नाममा वडा नं ७ को स्थानिय मजेत खोलामा सिंगै रुखका ३ वटा मुढा राखेर मान्छे तर्न लायक वनाउन ४० हजार खर्च गरेर पनि अन्य ठाउँहरुमा देखिन लायक काम नभएको स्थानियहरुको गुनासो रहेको छ ।

‘गाविसको सार्वजनिक लेखा परिक्षणमा माओवादी केन्द्रका सदस्यहरुको एकाघरका परिवारलाई ४० हजार देखि डेढ लाख सम्मका ३ वटा योजनाको उपभोक्ता समिती अध्यक्ष वनाएर रकम भुक्तानी दिएको देखिन्छ ।’ नाम उल्लेख नगर्ने सर्तमा तिप्लिङकै एक स्थानियले भने, ‘रकम त जसजस्को नाममा दिएपनि केही हुँदैनथ्यो तर लगेको रकम बराबरको काम भएको त हुनुपर्र्यो नी, काम पनि  केही गरेको देखिदैन, दाम पनि छैन ।’

उत्तरी धादिङका धेरैजसो गाउँ विकास समितिका गाउँ परिषद समेत सदरमुकाममै हुने र गाविसले गरेका कामकारवाहीको नाम मात्रैको सार्वजनिक सुनुवाइ पनि सदरमुकाममै हुने गरेकाले रकम अनियमितताका विषयमा राजनैतिक दलका प्रतिनिधिहरुले नै गुपचुप राख्ने गरेका छन ।

माओवादी केन्द्रकै सदस्य हेमथापा तामाङ्गले गाविसको कृषि क्षेत्रको बजेट अन्तरगत गाउँमा उन्नतजातको वोका वितरण गर्न ४० हजार बुझिलिएको भएपनि तिप्लिङ गाविसमा कुनैपनि बोका नरहेको स्थानिय युवा डेभिड घलले बताए । गाविसमा योजनाको अन्तिम किस्ता लिनको लागि अन्यत्र पालिएको बोकाको फोटो देखाएर रकम भुक्तानी लिएको खुल्न आएको छ ।

सदरमुकाममा कोठाभाडा लिएर वसेका हेम थापाकै छोरी ओममाया तामाङ्ग अध्यक्ष रहेको महिला सामुदायिक भवन निर्माणका लागी एक लाख रकम पनि हिम थापालेनै गाविस वाट वुझेका थिए । ठेक्कापट्टाको काम गर्दै आएका थापाले आधा रकम मात्रै खर्चिएर तिप्लिङगाउँ विकास समितिको वडा नं २ मा  एउटा सामुदायिक महिला भवन बनाएको भएपनि त्यसको सही सदुपयोग भएको छैन । तर गाविसबाट भने उनले पुरै पैसा बुझेको देखिएको छ ।

एकै परिवारका सदस्यहरु भिन्ना भिन्नै योजनाको उपभोक्ता समिती बस्न पाउने भएपनि अनियमितता हुनसक्ने भएकाले सामान्यतया अलग अलग उपभोक्ता समितिमा पनि एकैपरिवारका सदस्य राखिएको हुँदैन । तर तिप्लिङ गाउँ विकास समितिका अधिकाँश योजनाहरु भने एउटै परिवारले संचालन गर्ने र काम पनि पुरा नगरि सवै रकम बुझिलिने गरेको भेटिएको हो । आफुले भर्खरै मात्र तिप्लिङ गाविसको जिम्मेवारी लिएकाले योजना छनौट र भुक्तानीको सवै प्रक्रिया बुझ्ने क्रममा रहेको र यस अघिका सचिवहरुलाइ थाहा भएको गाविस सचिव इन्द्र प्रसाद काफ्लेले बताए ।

अख्तियारले गत आर्थिक वर्षमा गाविसका फाइलहरु अनुसन्धान गरेको र गाविसमा संचालन भएका योजनाहरुको स्थलगत नै अनुगमन गरेको भएपनि त्यसको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक भएको छैन । अख्तियारले पनि कर्मचारीहरुसंग बार्गेनिङ गर्नको लागि छापा मारेको जस्तो गरेको स्थानियहरुले आरोप लगाएका छन । गत आर्थिक वर्ष सकिनै लाग्दा अख्तियारको टोलीले धादिङका सवैजसो गाउँविकास समितिका फाइहरु अध्ययन गरेको भएपनि त्यसको कुनैपनि प्रतिवेदन अहिलेसम्म बाहिर आएको छैन ।

About The Author

अन्य समाचारहरु: