Sat. Jul 5th, 2025

हचुवामै हुन्छ पोष्टमार्टम, अधिकांश मृत्युको कारण रहस्यमै

hospital-dhading

शंकर श्रेष्ठ / २७ भदौ,  धादिङ – अत्यावश्यक उपकरण समेत नहुँदा धादिङका सरकारी स्वास्थ्य संस्थाहरुले हचुवाको भरमा पोष्टमार्टम रिर्पोट तयार पार्ने गरेका छन् ।

जिल्ला अस्पताल बाहेक सरकारले पोष्टमार्टमको अनुमति दिएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रले वर्षाैदेखि हचुवाकै भरमा पोष्टमार्टम रिपोर्ट तयार पार्ने गरेको भेटिएको छ ।

दैनिक जसो शवको पोष्टमार्टम गर्दै आएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा टाउको र छाती चिर्नको लागि प्रयोग हुने ह्याक्सो ब्लेड समेत नभएको मेडिकल अधिकृत डा. अमृता श्रेष्ठले बताइन् । पोष्टमार्टम गर्दा बाहिरी अंग चिर्न आवश्यक पर्ने ब्लेड, सिजर, रिप कटर, स्पालपेल, ह्याम्मर, चिसेल लगायतको उपकरण नहुँदा समस्या भएको उनले बताइन् । ‘दैनिक जसो पोष्टमार्टमका लागि शव आउछ, उपकरण छैन, शव स्टोर गरेर राख्न लागि आइसबक्स पनि छैन, व्यवहारिक रुपमा हेरेर काम चलाउ पोष्टमार्टम गर्ने गरेका छौं’ डा. अमृताले भनिन् ।

गजुरीमा सडक दुर्घटना बाहेक आत्महत्या गरेका घटना मात्रै वार्षिक २० वटा भन्दा बढि आउने गरेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटनामा मृत्यु भएका अधिकांश शवहरु गजुरी प्राथमिक स्वास्थ्य केन्द्रबाट नै पोष्टमार्टम रिपोर्ट तयार गर्ने गरिएको छ । गजुरीका स्वास्थ्यकर्मीहरुका अनुसार वर्षाैदेखि नचिरिकनै अधिकांश शवको पोष्टमार्टम रिपोर्ट तयार गरिदै आएको छ ।

उता धादिङका झण्डै २० गाविसका नागरिकलाई सेवा प्रदान गर्दै आएको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ । पोष्टमार्टम गर्दा टाउकोदेखि  काट्नुपर्ने भएपनि उपकरण नहुँदा सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रले हचुवाकै भरमा रिपोर्ट तयार पर्ने गरेको छ । पोष्टमार्टम सेटमा हुनुपर्ने केही उपकरण भएपनि अधिकांश उपकरण नहुँदा हेरेकै आधारमा रिपोर्ट बनाउने गरेको डा. श्रृष्टी उपाध्यायको भनाई छ ।

 ‘यहाँ पोष्टमार्टम नगराइ जिल्लामा लैजाउ भन्दा उनीहरुसंग गाडी भाडा समेत छैन भन्छन्, सक्नेले लैजान्छु भने पनि बाटोको समस्याले लान सक्दैनन्, जुन पायो त्यो गाडीले शव बोक्न मान्दैन, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारकी डा. श्रृष्टिले भनिन् ‘हामीले बाध्य भएर पोष्टमार्टम  गर्नुपर्छ ।’

शवको अवस्था हेरेर हचुवाकै भरमा पोष्टमार्टम रिपोर्ट तयार पारिनुले अधिकांश  मृत्यु रहस्य मै रहने गरेको खुलाशा भएको छ । हचुवाको भरमा भएको पोष्टमार्टमको रिर्पोटले गर्दा सजाय पाउनु पर्नेले उन्मुक्ति पाउने र निर्दोष व्यक्ति सजायको भागिदार हुनुपर्ने अवस्था सिर्जना भएकोले कि बन्द गराउनु प¥यो कि पूर्ण रुपमा दक्ष जनशक्ति सहित पूर्ण बनाउनुपर्ने एमाओवादी केन्द्र धादिङका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।

जिल्ला अस्पताल धादिङमा पनि पोष्टमार्टमको लागि आवश्यक सामान्य उपकरण भएपनि पूर्ण भने छैन । पोष्टमार्टम गरेर वा नगर्दै शव स्टोर गर्ने र पोष्टमार्टम गर्दा भिसेराको स्याम्पल स्टोरेज गर्ने सुविधा छैन।

 पोष्टमार्टमका लागि आवश्यक तालिम नहुँदा पनि थप समस्या उत्पन्न हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रकी डा. श्रृष्टि उपाध्यायले पाविलन्युजसंग टेलिफोनमा भनिन्, ‘जिल्लाले पनि त्यहि पोष्टमार्टम गर भन्छ, यहाँ हामीसंग भएका स्वास्थ्यकर्मीहरुलाई पोष्टमार्टम तालिम छैन, पोष्टमार्टम यसैगरी गर्ने भन्ने चरण, उपकरण प्रयोग गर्ने तरिका समेत थाहा छैन ।’ कुन उपकरण कसरी प्रयोग गर्ने भन्ने प्रयोगात्मक ज्ञान नहुँदा समस्या आउने उनले बताइन् । सल्यानटारमा बार्षिक १८ वटा शवको पोष्टमार्ट हुने गरेको छ ।

एमबिबिएस पढ्दा केही सैद्धान्तिक ज्ञानका बारेमा पढाइ हुने भएपनि प्रयोगात्मक ज्ञानको अभावले गर्दा पोष्टमार्टममा गलत रिपोर्ट आउन सक्ने जिल्ला अस्पताल धादिङका डा. श्याम ढोडारीले बताए ।

आवश्यक उपकरण पटक पटक माग गरिएको भएपनि आपूर्ति महाशाखाले उपलब्ध गराउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवन मल्लले बताए । गत एक महिना अघि मात्रै पनि स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखा टेकुमा ३ सेट पोष्टमार्टम उपकरण माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: