

सरिता श्रेष्ठ / ३ फागुन, धादिङ –
साउदीमा हराएका धादिङको बसेरी गाउँ विकास समिति वडा नं ४ का आशमान गुरुङ भेटिएका छन् । एक महिनाअघि साउदीमा विरामी परेका उनी रियाद भन्दा झण्डै ४ सय किलोमिटर टाढा साफिया भन्ने ठाउँमा सोमबार भेटिएका हुन् ।
श्रवणशक्ति गुमाएका आसमान गत पुष पहिलो साताबाट साउदी अरबको रियात बाट हराएको थियो । होटलमा वेटर कामको लागि भनेर २०७३ साउन २८ गते साउदी स्थित रियात पुगेका थिए । पुषको २ गतेबाट सम्पर्कमा सम्पर्कमा नआएका हुन् ।
साउदीमै रहेका इलामका नारायण कटुवालको पहलमा उनको खोजी गरिएको थियो । नारायणले बाख्रा चराउने ठाउँमा भेटिएका आशमानलाई साउदीमा रहेको नेपाली दूतावासमा पु¥याएका थिए । दूतावासबाट आशमानलाई नेपाल फर्काउन प्रक्रिया सुरु भएको छ । तर उनलाई नेपाल फर्काउन अझै दुई हप्ता लाग्न सक्ने नारायणले जानकारी दिए।
नारायणका अनुसार एक जना नेपालीले दिएको ३० रियालले अहिलेसम्म खानेकुरा खाएर बसेको पाइएको छ । उनको स्वास्थ्य स्थिति विग्रेको र कहिलेकाहीँ बेहोसी जस्तै भएर कुरा गर्ने हुदाँ उपचारका लागि अस्पताल लैजाने र नेपाल फर्काउने प्रक्रियामा सहयोग गर्ने नारायण बताए । आशमान भेटिएपछि परिवारमा खुसी छाएको छ ।
२०७३ फागुन ३ गते प्रकाशित